पर्सा–२ का मतदातासँग प्रत्यक्ष संवादमा राप्रपाकी उम्मेदवार बिना जयसवाल कुर्मी

  • कालिका खवर
  • शुक्रबार, माघ १६, २०८२
  • वीरगंज  – राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) को तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार बिना जयसवाल कुर्मीले वीरगंज महानगरपालिका–२६ सुगौलीमा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्।

    घरदैलो कार्यक्रमका क्रममा कुर्मीले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनका विषयमा आफ्नो प्रतिबद्धता व्यक्त गरिन्। उनले सुगौलीका विभिन्न टोल तथा बस्तीमा पुगेर स्थानीयवासीका समस्या, गुनासा र सुझाव सुन्नुका साथै ती विषयलाई आगामी दिनमा संसद्मा उठाउने एजेन्डाबारे जानकारी गराइन्।

    कुर्मीले विकासको केन्द्रमा जनताको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै स्थानीय आवश्यकताअनुसार योजना निर्माण र प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइन्। “पर्सा क्षेत्र नम्बर–२ का जनताको अपेक्षा र आवश्यकता बुझेर मात्रै सार्थक विकास सम्भव हुन्छ । म जनताकै आवाज संसद्सम्म पुर्‍याउन प्रतिबद्ध छु,” उनले भनिन्।

    उनले आधारभूत सेवा सुविधाको पहुँच विस्तार, युवाका लागि रोजगारी सिर्जना, महिलाको सशक्तीकरण तथा पारदर्शी प्रशासनलाई आफ्नो प्रमुख प्राथमिकता रहने स्पष्ट पारिन्।

    घरदैलो कार्यक्रमका क्रममा स्थानीय मतदाताले सडक, खानेपानी, ढल व्यवस्थापन, स्वास्थ्य चौकीको स्तरोन्नति र शैक्षिक संस्थाको गुणस्तर सुधार जस्ता विषय उठाएका थिए। कुर्मीले यी सबै विषयलाई आफ्नो चुनावी घोषणापत्रमा समेट्दै प्राथमिकताका साथ पहल गर्ने आश्वासन दिइन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar