पारोबाट सुन बनाउने अमेरिकी कम्पनीको दाबी: विश्व सुन बजारमा नयाँ तरङ्ग

  • आइतवार, कार्तिक १५, २०८३
  • भूपेन बिके

    आणविक सङ्लयनबाट उत्पन्न हुने न्युट्रोन प्रयोग गरी पारो (पारा) लाई सुनमा परिवर्तन गर्न सकिने अमेरिकी कम्पनीको दाबीले विश्वको सुन बजार तथा सुनचाँदी व्यवसाय क्षेत्रमा नयाँ चासो सिर्जना गरेको छ।
    विज्ञान तथा प्रविधिको क्षेत्रमा भइरहेको नयाँ अनुसन्धानले भविष्यमा सुन उत्पादन गर्ने परम्परागत अवधारणामै परिवर्तन ल्याउन सक्ने सम्भावना देखाएको छ। अमेरिकामा आणविक सङ्लयन प्रविधिमा काम गरिरहेको मेराथन फ्युजन नामक कम्पनीले आणविक प्रक्रियामार्फत पारोलाई सुनमा परिवर्तन गर्न सकिने प्रविधिबारे दाबी सार्वजनिक गरेको छ।

    कम्पनीको प्रस्तावअनुसार आणविक सङ्लयनबाट उत्पन्न हुने न्युट्रोन प्रयोग गरी पाराको विशेष परमाणु प्रकारलाई आणविक प्रक्रियामार्फत अर्को अवस्थामा परिवर्तन गर्न सकिन्छ। यस प्रक्रियाबाट पाराको एक विशेष परमाणु प्रकार परिवर्तन भई अर्को प्रकारको पारु बन्छ। त्यसपछि रेडियोधर्मी क्षय प्रक्रियामार्फत स्थिर सुन बन्न सक्छ। वैज्ञानिक भाषामा यस प्रक्रियालाई आणविक रूपान्तरण भनिन्छ। अर्थात् एउटा रासायनिक तत्वको परमाणु केन्द्रकमा परिवर्तन गरी अर्को रासायनिक तत्व निर्माण गर्ने प्रक्रिया हो।

    कसरी पारोबाट सुन उत्पादन हुन्छ ?
    सामान्य रासायनिक प्रक्रियाबाट एउटा तत्वलाई अर्को तत्वमा परिवर्तन गर्न सम्भव हुँदैन। किनभने प्रत्येक तत्वको पहिचान त्यसको परमाणु केन्द्रकमा रहेको प्रोटोनको सङ्ख्याले निर्धारण गर्छ। तर आणविक प्रक्रियाबाट परमाणु केन्द्रकमा परिवर्तन ल्याउन सकिन्छ। पारोको परमाणु केन्द्रकमा परिवर्तन गरी सुनको परमाणु संरचना प्राप्त गर्न सकिने वैज्ञानिक आधार यस प्रविधिको मुख्य पक्ष हो।

    यस प्रक्रियामा पाराको एक विशेष परमाणु प्रकारमा न्युट्रोनको प्रभाव पारेर अर्को परमाणु प्रकार बनाइन्छ। त्यसपछि रेडियोधर्मी क्षयमार्फत स्थिर सुन प्राप्त हुने अवधारणा प्रस्तुत गरिएको छ।

    वार्षिक टनौँ सुन उत्पादन गर्न सकिने अनुमान
    मेराथन फ्युजन कम्पनीले प्रस्तुत गरेको प्राविधिक अवधारणाअनुसार एक अर्ब वाट क्षमताको आणविक सङ्लयन केन्द्रबाट वार्षिक करिब दुईदेखि पाँच टनसम्म सुन उत्पादन गर्न सकिने अनुमान गरिएको छ।

    यद्यपि यो कम्पनीले प्रस्तुत गरेको प्राविधिक अनुमान मात्र हो। वास्तविक व्यावसायिक उत्पादन, उत्पादन लागत, सुनको शुद्धता तथा दीर्घकालीन सञ्चालन क्षमताबारे स्वतन्त्र वैज्ञानिक परीक्षण र व्यावहारिक प्रमाण आवश्यक छन्।

    विश्वको सुन बजारमा कस्तो प्रभाव पर्न सक्छ ?
    यदि भविष्यमा यो प्रविधि वैज्ञानिक रूपमा प्रमाणित भई व्यावसायिक रूपमा सफल भयो भने विश्वको सुन आपूर्ति प्रणालीमा नयाँ सम्भावना सिर्जना हुन सक्छ। हाल विश्वमा सुनको ठूलो हिस्सा खानी उत्खनन, प्रशोधन र पुनःप्रयोगबाट प्राप्त हुँदै आएको छ। तर आणविक प्रविधिबाट सुन उत्पादन सम्भव भएमा भविष्यमा सुन उत्पादनका वैकल्पिक स्रोत थपिन सक्छन्।

    यसले अन्तर्राष्ट्रिय सुन बजार, सुनको मूल्य निर्धारण, सुन खानी उद्योग तथा सुनचाँदीका गहना उत्पादन गर्ने व्यवसायमा दीर्घकालीन प्रभाव पार्न सक्ने सम्भावना रहन्छ।

    नेपालका सुनचाँदी व्यवसायीका लागि पनि चासोको विषय
    नेपालमा सुनचाँदी तथा रत्न आभूषण व्यवसायसँग सम्बन्धित उद्योगी, व्यवसायी, कालिगढ र उपभोक्ताका लागि पनि यस्तो प्रविधि महत्त्वपूर्ण अध्ययनको विषय बन्न सक्छ। नेपालको सुनचाँदी व्यवसाय परम्परागत सीप, हस्तकला, डिजाइन र अन्तर्राष्ट्रिय बजारसँग जोडिँदै आएको छ। भविष्यमा सुन उत्पादन गर्ने प्रविधिमा परिवर्तन आएमा कच्चा सुनको आपूर्ति, अन्तर्राष्ट्रिय मूल्य, गहना उत्पादन र व्यवसायको प्रतिस्पर्धात्मक क्षमतामा प्रभाव पर्न सक्छ।

    त्यसैले नेपालका सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घसंस्था तथा महासङ्घले पनि यस्ता नयाँ वैज्ञानिक अनुसन्धानबारे जानकारी राख्दै भविष्यको व्यावसायिक सम्भावना अध्ययन गर्न आवश्यक देखिन्छ।

    दाबी र वैज्ञानिक प्रमाणबीचको भिन्नता बुझ्न आवश्यक
    यो प्रविधिको वैज्ञानिक आधार आणविक भौतिकशास्त्रमा रहेको भए पनि मेराथन फ्युजन कम्पनीको प्रस्तावित प्रविधिबाट ठूलो मात्रामा सुन उत्पादन व्यावसायिक रूपमा सफल भइसकेको निष्कर्ष निकाल्न मिल्दैन।

    कम्पनीको दाबीलाई स्वतन्त्र वैज्ञानिक परीक्षण, प्रयोगात्मक नतिजा र औद्योगिक स्तरको उत्पादनबाट पुष्टि गर्न बाँकी छ।
    विज्ञान र प्रविधिको विकाससँगै भविष्यमा सुन उत्पादन गर्ने तरिका परिवर्तन हुन सक्ने सम्भावनालाई भने अस्वीकार गर्न सकिँदैन। सुन केवल बहुमूल्य धातु मात्र होइन, विश्व अर्थतन्त्र, लगानी, गरगहना उद्योग र परम्परागत शिल्प व्यवसायको महत्त्वपूर्ण आधार पनि हो। त्यसैले पारोबाट सुन उत्पादन गर्ने यो नयाँ वैज्ञानिक अवधारणालाई विश्व सुन बजारले चासोका साथ हेर्न थालेको छ।

    (आभूषण सम्बन्धमा कलम चलाउने पत्रकार तथा लेखक घमाल नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका केन्द्रीय सदस्य तथा नेपाल सुन चाँदी शिल्प व्यवसायी संघका सचिव हुनुहुन्छ )

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar