कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधीमा समाजसेवी पशुपति गुरुङको उम्मेदवारी

  • आइतवार, अशोज ११, २०८३
  • काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ को महाधिवेशन प्रतिनिधीमा समाजसेवी पशुपति गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

    लामोसमय समाजसेवामा सक्रिय गुरुङले राजनीतिलाई सेवाको भावनाबाट अगाडि बढाउने उद्देश्यसहित आफ्नो उम्मेदवारी घोषणा गरेको बताउनुभएको छ ।
    राजनीतिमा जीत, हार ठूलो कुरा नभई राजनीतिक इमान्दारिता र सेवा भावना ठूलो भएको बताउनु हुने गुरुङ विगत एक दशकदेखि संस्कार समाज नेपाल मार्फत समाजमा जनचेतना फैलाउने अभियानमा सक्रिय हुनुहुन्छ । विद्यार्थी जीवनमै राजनीतिमा होमिनु भएकी गुरुङ पार्टीभित्र पदमा रहेर मात्र होइन, बाहिर रहेर पनि टेवा पुर्याउन सकिन्छ भन्ने भावनाबाट ओतप्रोत हुनुहुन्छ । पछिल्लो समय सक्रिय राजनीतिमा देखा पर्नुभएकी गुरुङ सबैभन्दा पहिले आफै भित्रका विकृतिहरुका विरुद्धमा लड्नु पर्ने धारणा राख्नु हुन्छ । सुदृढीकरणको र सेवा भावनाको राजनीतिमा आफू प्रतिवद्ध र कटिबद्ध रहने बताउदै केन्द्रीय महाधिवेशन प्रतिनिधीको उम्मेदवारीमा आफूले जित हासिल गर्ने विश्वाससमेत व्यक्त गर्नु हुन्छ ।

    को हुन् पशुपति गुरुङ ?

    कास्कीको घान्द्रुकमा जन्मिनुभएकी पशुपति गुरुङ लामो समयदेखि सामाजिक सेवा, जनचेतना, साहित्य तथा विभिन्न सामाजिक अभियानमा सक्रिय व्यक्तित्व हुनुहुन्छ। २०३१ चैत २ गते चिसकुमारी गुरुङ र दुर्गाबहादुर गुरुङको सन्तानका रूपमा घान्द्रुकमा जन्मिनुभएकी गुरुङको सामाजिक सेवाप्रतिको सक्रियता लामो समयदेखि निरन्तर रहँदै आएको छ। उहाँका श्रीमान् बुद्धिप्रसाद गुरुङ हुनुहुन्छ।

    गुरुङले आफ्नो जीवनको झन्डै २२ वर्ष जापान र दक्षिण कोरियामा प्रवासीका रूपमा बिताउनुभएको छ। प्रवासमा रहँदा पनि विभिन्न संघसंस्थामा आबद्ध भएर अप्ठ्यारोमा परेका नेपालीको उद्धार, राहत तथा सहयोगमा सक्रिय रहनुभएको थियो। नेपालमा हुने विभिन्न सामाजिक गतिविधिमा समेत उहाँले आर्थिक सहयोग गर्दै आउनुभएको छ।

    ‘असल संस्कार सिकौँ, सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ र ‘असल संस्कार समृद्धिको आधार’ भन्ने नारालाई आत्मसात गर्दै गुरुङले संस्कार समाज नेपाल स्थापना गर्नुभएको हो। संस्थामार्फत उहाँले सामाजिक सेवा, सरसफाइ, जनचेतना, शिक्षा तथा मानवीय सहयोगका विभिन्न अभियान सञ्चालन गर्दै आउनुभएको छ।

    सामाजिक क्षेत्रमा व्यक्तिगत रूपमा पनि उहाँले उल्लेख्य आर्थिक योगदान गर्नुभएको छ। स्वर्गीय आमा चिसकुमारी गुरुङको स्मृतिमा संस्कार समाज नेपालमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ। उक्त अक्षयकोष विभिन्न सामाजिक कार्यमा लगानी गर्ने उद्देश्यले स्थापना गरिएको हो।

    त्यस्तै, श्री मेश्रम वराह माध्यमिक विद्यालय, घान्द्रुकमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ। उक्त कोषबाट विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्य राखिएको छ। घलेल गाउँमा रहेको श्री बमबहादुर घलेल प्राथमिक विद्यालयमा पनि पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ, जसको उद्देश्य विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु हो।

    २०७२ सालको विनाशकारी भूकम्पका बेला पनि गुरुङ सामाजिक सेवामा सक्रिय रहनुभयो। सरकारले आह्वान गरेको प्रधानमन्त्री राहत कोषमा बैंक खुलेकै पहिलो दिन एभरेस्ट बैंकको सामाखुशी शाखामार्फत एक लाख रुपैयाँ सहयोग जम्मा गर्नुभएको थियो। त्यही समयमा आफ्नै निवास रहेको टाउनप्लानिङ, सामाखुशी क्षेत्रमा अव्यवस्थित रूपमा टेन्टमा बसेका भूकम्पपीडितको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै फोहोरमैला व्यवस्थापनमा समेत उहाँले अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो।

    मानवीय सेवातर्फ पनि उहाँको निरन्तर योगदान रहँदै आएको छ। मानवसेवा आश्रम, सामाखुशी शाखामा आश्रितहरूका लागि शुद्ध पिउने पानीको व्यवस्थाका लागि सहयोग गर्नुभएको छ।  यस्ता धेरै उदाहरणीय सहयोगका कार्य गर्दै आउनुभएको छ ।

    आफ्नो व्यापार तथा व्यवसायबाट प्राप्त आम्दानीको केही हिस्सा सामाजिक कार्यमा लगाउने प्रतिबद्धताअनुसार संस्कार समाज नेपालका गतिविधिमा आफूले सकेको आर्थिक सहयोग गर्दै आएको उहाँ बताउनुहुन्छ। समाजमा हुने विभिन्न खालका कुरीति, कुसंस्कार तथा मानवीय विपत्तिका समयमा आर्थिक, भौतिक तथा नैतिक रूपमा सेवा पुर्‍याउँदै आउनुभएको छ।

    गुरुङकै नेतृत्वमा हरेक महिनाको १ गते बिहान ८ बजे ‘१ घण्टा, १ सय मिटर देशव्यापी जनचेतनामूलक सरसफाइ महाअभियान’ सञ्चालन हुँदै आएको छ। विभिन्न सरकारी, गैरसरकारी तथा शैक्षिक संस्थासँगको सहकार्यमा सञ्चालन भइरहेको यस अभियानमा काठमाडौं उपत्यकासहित उपत्यकाबाहिरका १६५ भन्दा बढी संघसंस्था आबद्ध भइसकेका छन्।

    त्यसैगरी, विद्यालय तहबाटै असल संस्कारको विकास गर्ने उद्देश्यले ‘स्कुल–स्कुलमा असल संस्कार देशव्यापी महाअभियान’ पनि उहाँको नेतृत्वमा सञ्चालन भइरहेको छ। विभिन्न शैक्षिक संस्थासँगको सहकार्यमा सञ्चालन भइरहेको यो अभियानले विद्यार्थीमा असल संस्कार, अनुशासन तथा सामाजिक जिम्मेवारीको भावना विकास गर्ने उद्देश्य राखेको छ।

    सार्वजनिक यातायातमा समेत जनचेतना र सरसफाइको संस्कार विकास गर्ने उद्देश्यले गुरुङले देशभरका सार्वजनिक यातायातमा सचेतनामूलक अडियो (पेनड्राइभ) र डस्टबिन अनिवार्य गराउने अभियान सञ्चालन गर्नुभएको छ। महानगरीय ट्राफिक महाशाखा, रामशाहपथ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा नेपाल प्रहरीको सहकार्यमा दुई हजारभन्दा बढी लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा पेनड्राइभ र डस्टबिन वितरण गरिसकिएको छ।

    सामाजिक सेवासँगै गुरुङ साहित्य क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ। उहाँको ‘असल संस्कार समृद्धिको आधार’ नामक निबन्ध सङ्ग्रह प्रकाशित छ। सामाजिक तथा साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानका लागि उहाँ विभिन्न संघसंस्थाबाट सम्मानित तथा अभिनन्दितसमेत हुनुभएको छ।

    गुरुङले गोधूलि साहित्यिक प्रतिष्ठान समाजसेवा सम्मान–२०७४, नारी स्वर्ण सम्मान–२०७४, राष्ट्रिय नारी स्वर्ण सम्मान–२०७४, राष्ट्रिय सेवा सम्मान–२०७४, गोगंबु आवास क्षेत्र दिदीबहिनी समाजको प्रमाणपत्र–२०७४, पश्चिमाञ्चल सांस्कृतिक केन्द्रको सम्मान–२०७५, जनआकाश जनसेवा सम्मान–२०७५, सामाजिक सेवा सम्मान–२०७५, सप्तरङ्गी साहित्य प्रतिष्ठानको सम्मानपत्र–२०७५, गोधूलि साहित्य प्रतिष्ठान अभिनन्दन–२०७५, संघर्षमा कलम साहित्य समाज पोखराको सम्मानपत्र–२०७५, घान्द्रुक समाज हङकङको प्रशंसापत्र–२०७५, लीलाकुमारी गुरुङ समाजसेवा सम्मान–२०७६, मातृभूमि महिला समाजको कदरपत्र, क्षेद प्ल्हने क्याँको भाई खलक घान्द्रुकको कदरपत्र, श्री मेश्रम वराह माध्यमिक विद्यालय घान्द्रुकको सम्मान तथा गोधूलि–ओली–भद्रकुमारी आदर्श आमा पुरस्कार–२०७८ लगायतका सम्मान प्राप्त गर्नुभएको छ।

    हाल गुरुङ संस्कार समाज नेपालको अध्यक्ष/संस्थापक हुनुहुन्छ। उहाँ गोधूलि साहित्य प्रतिष्ठानको विशिष्ट सदस्य, माछापुच्छ्रे समाज काठमाडौंको आजीवन सदस्य, अन्नपूर्ण काठमाडौं समाज नेपालको आजीवन सदस्य तथा त्रिनेत्र आध्यात्मिक चिन्तन केन्द्रको आजीवन सदस्यका रूपमा समेत सामाजिक तथा साहित्यिक गतिविधिमा सक्रिय हुनुहुन्छ।

    लामो समय सामाजिक सेवा र जनचेतनामूलक अभियानमा सक्रिय रहनुभएकी गुरुङले अब आफ्नो सामाजिक अनुभव, सेवाको भावना र नेतृत्व क्षमतालाई राजनीतिक क्षेत्रमा समेत अघि बढाउने उद्देश्य लिनुभएको छ। यही उद्देश्यसहित उहाँले नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ को महाधिवेशन प्रतिनिधि (जनजाति समूह) पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar