आहतको दसैँ–शुभकामना !

डा. राजेन्द्र चापागाई 'आहत'
डा. राजेन्द्र चापागाई 'आहत'
  • शनिबार, कार्तिक १, २०८३
  • अनिर्णयको डोरीमा झुन्डिएको,
    आधा वर्ष दिनरात निलिसकेको,
    बूढो, थोत्रो भित्ते पात्रोले
    छातीभरि सघन पीडा बोकेर,
    शब्दहीन ल्याप्चे ठोकेर,
    डराउँदै, लजाउँदै,
    मलाई देखायो
    आसन्न चाडपर्व
    दशैँ, दीपावली र छठका पर्व।

    तर-
    महँगीको चापमा परेको आहत,
    विकृति–विसङ्गतिको रापमा परेको आहत,
    सर्वसत्तावादले अँठ्याइएको आहत,
    प्रतिशोधको पासोमा चेपिएको आहत,
    परिवेशले थिचिएको आहत,
    विवशताले किचिएको आहत,
    द्रव्यदैत्यबाट हेपिएको आहत,
    पद र पावरबाट पेलिएको आहत,
    समयको साङ्लोमा बाँधिएको आहत,
    असमयको आँधीले तानिएको आहत,
    राहतको आसमा अस्वीकृत आहत,
    गुट र ग्याङ्गबाट बहिष्कृत आहत,
    बिचरो विकलाङ्ग आहतले
    यी रङ्गीन चाडपर्वसँग खेल्न सकेन,
    मनका व्यथा खुलेर बोल्न सकेन,
    विधि, विधान र विवेक छल्न सकेन,
    शकुनिका पासा चाल्न सकेन।

    त्यसैले,
    स्वाभिमानको अभिमानी आहतलाई,
    कहरको कहानी आहतलाई,
    भित्ते पात्रोले पर्व त देखायो,
    तर आफ्नै हैसियतले गिज्यायो,
    यथार्थताले औँला ठड्यायो,
    परिस्थितिले गौंडा देखायो,
    विवशताले बिस्कुन सुकायो,
    समयले औकात चिनायो।

    तैपनि,
    मुस्कान हराएको मुहार देखाउँदै,
    लाली हराएको ओठ देखाउँदै,
    अन्तरमनमा पीडा लुकाउँदै,
    ओठमा कृत्रिम मुस्कान सजाउँदै,
    फिक्का हाँसो फिस्स हाँस्दै,
    भ्रामक शब्दका माला गाँस्दै,
    दिँदै छ तपाईंलाई शुभकामना
    दशैँ, तिहार, छठ र नेपाल संवत्को,
    स्नेह, सद्भाव र शुभेच्छाका पुष्पसहित
    हार्दिक मङ्गलमय कामना!
    सतत मङ्गलमय शुभकामना!!!

    लेखकको बारेमा

    डा. राजेन्द्र चापागाई 'आहत'

    डा. राजेन्द्र चापागाई 'आहत'

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar