‘प्रविधि र सुशासनमा जोड दिँदै अघि बढिरहेका छौं’ : अध्यक्ष मल्ल

  • कालिका खवर
  • बुधबार, बैशाख ९, २०८३
  • काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड को ३०औँ वार्षिक साधारणसभा आज काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित कुल ९.१५७९ प्रतिशत लाभांश पारित गरेको छ।

    पारित लाभांशमध्ये ८.७ प्रतिशत बोनस शेयर (रु. १४ करोड ७९ लाख ८३ हजार १६५) र ०.४५७९ प्रतिशत नगद लाभांश (रु. ७७ लाख ८८ हजार ५८८) रहेका छन्। लाभांश वितरणपछि कम्पनीको चुक्तापुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव समेत सभाबाट अनुमोदन गरिएको छ।

    सभामा अध्यक्ष राजेन्द्र मल्ल ले कम्पनीले सूचना प्रविधिको प्रभावकारी प्रयोग, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको बताएका छन्। “हामीले सेवामा गुणस्तर, विश्वसनीयता र सहजतामा जोड दिँदै दीर्घकालीन रणनीतिअनुसार काम गरिरहेका छौं,” उनले भने।

    अध्यक्ष मल्लले मानव स्रोत विकास, संस्थागत सुशासन र व्यवसाय विस्तारलाई सँगसँगै अघि बढाइएको उल्लेख गर्दै कर्मचारी क्षमता अभिवृद्धिका लागि तालिम तथा प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइएको बताए। “बीमा क्षेत्रको प्रतिस्पर्धात्मक वातावरणमा टिकिरहन नवप्रवर्तन र सुशासन अपरिहार्य छ,” उनको भनाइ थियो।

    सभाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका खर्च पारित गर्नुका साथै नियामक निकायबाट प्राप्त सुझावअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गरेको छ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्दै चालु वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar