नेपालमा पहिलो पटक ‘एओटीसीए अन्तर्राष्ट्रिय कर सम्मेलन २०२५’ हुने

  • कालिका खवर
  • बिहिबार, कार्तिक २७, २०८२
  • काठमाडौं । नेपाल च्याम्बर अफ ट्याक्स कन्सल्टेन्ट्सले गर्वका साथ घोषणा गरेको छ कि ‘एओटीसीए अन्तर्राष्ट्रिय कर सम्मेलन २०२५’ नेपालमा हुने भएको छ । सम्मेलन आगामी मंसिर २ देखि ५ गतेसम्म (नोभेम्बर १८ देखि २१) काठमाडौंको द सोल्टी होटलमा आयोजना हुने भएको हो ।

    यो सम्मेलन एसिया–ओसियान ट्याक्स कन्सल्टेन्ट्स एसोसिएसन (AOTCA) को समन्वयमा आयोजना हुँदैछ, जसले एसिया र ओसियान क्षेत्रका २० भन्दा बढी देशका कर व्यवसायिक संस्थाहरूलाई एकसाथ जोडेको छ ।

    सन् १९९२ मा स्थापना भएको एओटीसीएले कर परामर्श व्यवसायमा उच्च नैतिक मापदण्ड, व्यावसायिक उत्कृष्टता, तथा दिगो आर्थिक विकासलाई समर्थन गर्ने कर सुधारहरू प्रवर्द्धन गर्दै आएको छ ।

    नेपालमा हुने यस सम्मेलनको उद्देश्य नेपालको कर प्रणालीको प्रगतिशील रूप प्रदर्शन गर्नु, नेपाली कर व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँग सम्पर्कमा ल्याउनु, तथा कर नीति, अनुपालन र डिजिटल रूपान्तरणमा अन्तर्राष्ट्रिय अनुभव साटासाट गर्ने अवसर सिर्जना गर्नु रहेको छ ।

    यस्तै, सम्मेलनले प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य विस्तार, र कर नीति निर्माणमा सुधारका उपायहरू बारेमा पनि गहिरो छलफल गर्नेछ ।

    कार्यक्रममा विकासशील देशहरूको कर प्रणालीको ऐतिहासिक विकास, उदाउँदो अर्थतन्त्रहरूमा कर नीति कार्यान्वयनका चुनौतीहरू, विश्वव्यापी कर अनुपालनमा व्यवसायीहरूको भूमिका, र कर प्रशासनमा डिजिटल रूपान्तरणका अवसर तथा चुनौतीहरू जस्ता विषय समावेश हुनेछन् ।

    अन्तर्राष्ट्रिय कर सम्मेलनमा ३५० जना विदेशी प्रतिनिधि र २०० जना नेपाली कर व्यवसायी, नीतिनिर्माता, सरकारी अधिकारी, व्यवसायी तथा अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar