नेपालमा एलएस अटोको नयाँ विद्युतीय ‘एलईभी एक्स’ सार्वजनिक, ५५० किमी रेन्ज दाबी

  • कालिका खवर
  • सोमवार, चैत्र ३०, २०८२
  • काठमाडौं । नेपाली अटो बजारमा विद्युतीय सवारीको प्रतिस्पर्धा तीव्र भइरहेका बेला चीनको एलएस अटोले ‘एलईभी एक्स’ नामक नयाँ मोडल सार्वजनिक गर्दै आफ्नो उपस्थितिलाई थप बलियो बनाएको छ। काठमाडौंको ज्ञानेश्वरस्थित नयाँ सोरुम उद्घाटनसँगै सार्वजनिक गरिएको यो गाडीले एकपटकको चार्जमा ५५० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ।

    एलएस अटोको आधिकारिक वितरक ब्लु कर्पोरेशन प्रा.लि.ले सोरुम उद्घाटन कार्यक्रममार्फत नयाँ मोडलसँगै यसअघि बजारमा रहेको एलईभी ०१ को फोर–ह्वील ड्राइभ (एडब्लुडि) संस्करण पनि ल्याएको जनाएको छ। कम्पनीका अनुसार एलईभी ०१ ले करिब ५०० किलोमिटर रेन्ज दिनेछ, जसले मध्यम दूरीका यात्रुका लागि आकर्षक विकल्प प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

    शाङ्घाई तियानयी अटोमोटिभ टेक्नोलोजीअन्तर्गत सञ्चालनमा रहेको एलएस अटोले विगत २५ वर्षदेखि अटोमोबाइल डिजाइन, इन्जिनियरिङ र उत्पादन क्षेत्रमा काम गर्दै आएको छ। चीनको जियाङ्सुस्थित उत्पादन केन्द्रबाट वार्षिक १.५ लाख गाडी उत्पादन गर्ने क्षमता रहेको कम्पनीले नेपालसहित ११ भन्दा बढी देशमा बजार विस्तार गरिसकेको जनाएको छ।

    एलईभी सिरिजका गाडीहरू पूर्ण विद्युतीय प्लेटफर्ममा आधारित छन्। ७७ किलोवाट–आवर क्षमताको एलएफपी ब्याट्री, १९८ किलोवाट मोटर पावर र २२१ एमएम ग्राउन्ड क्लियरेन्स जस्ता विशेषताले गाडीलाई शक्तिशाली र प्रयोगमैत्री बनाउने कम्पनीको दाबी छ। साथै ३६० डिग्री क्यामेरा, प्यानोरामिक सनरुफ, वायरलेस चार्जिङ, मल्टीकलर एम्बियन्ट लाइट लगायतका प्रिमियम फिचर समावेश गरिएको छ भने १० एयरब्यागसहित सुरक्षा पक्षलाई पनि प्राथमिकता दिइएको छ।

    कम्पनीले मोटर र ब्याट्रीमा ८ वर्ष वा १.५ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउने जनाएको छ। काठमाडौंको कालोपुलमा सर्भिस सेन्टर सञ्चालनमा आइसकेको र देशभर चार्जिङ पूर्वाधार विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ। नयाँ वर्षको अवसर पारेर ल्याइएको विशेष अफरअन्तर्गत टेस्ट ड्राइभ गर्ने ग्राहकलाई उपहार र बुकिङमा विशेष सुविधा प्रदान गरिने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar