नेपाल एलपी ग्यास उद्योग संघको २७औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न

  • कालिका खवर
  • बुधबार, पुस ९, २०८२
  • काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको २७औँ वार्षिकोत्सव समारोह आज काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ग्यास उद्योगसँग सम्बन्धित विभिन्न संघ–संस्था, व्यवसायी तथा सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
    कार्यक्रमलाई सम्बोधन गर्दै सचिव डा. घिमिरेले उपभोक्तालाई सहज, सुरक्षित र नियमित ग्यास आपूर्ति सुनिश्चित गर्नु सरकारको प्राथमिकता रहेको बताए। उनले आपूर्ति व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले नीतिगत सुधारका कार्यहरू अघि बढिरहेको जानकारी गराए।

    नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यास उद्योगले भोग्दै आएका व्यवहारिक समस्या र चुनौतीहरूबारे धारणा राख्दै समाधानका लागि सरकार र सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताए। साथै, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनमा संघको तर्फबाट निर्वतमान अध्यक्ष शिवप्रसाद घिमिरेलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय गरिएको जानकारी दिँदै उपस्थित सबै वस्तुगत संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूलाई सक्रिय सहयोग गर्न आग्रह गरे।
    कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले निगम व्यवसायीहरूसँग हातेमालो गर्दै अघि बढ्न चाहेको स्पष्ट पार्दै पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज, नियमित र व्यवस्थित बनाउन निरन्तर प्रयासरत रहेको बताए।
    सो अवसरमा नेपाल एलपी ग्यास उद्योग संघका निर्वतमान अध्यक्ष शिवप्रसाद घिमिरेले भारतबाट एलपी ग्यास आयातलाई दीर्घकालीन, सुरक्षित र लागत–प्रभावी बनाउने उपायका रूपमा पाइपलाइन विस्तार आवश्यक रहेकोमा जोड दिए।

    नेपाल एलपी ग्यास उद्योग संघले ग्यास उद्योगको संस्थागत सुदृढीकरण, आपूर्ति प्रणालीको सुधार तथा निजी क्षेत्रको जिम्मेवार भूमिकालाई सशक्त बनाउने लक्ष्यसहित सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar