महेन्द्र राजमार्गमा गुडिरहेको विद्युतीय मिनिबसमा आगलागी

  • कालिका खवर
  • आइतवार, अशोज ४, २०८३
  • काठमाडौं । महेन्द्र राजमार्गअन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिका–७ रम्मापुरमा गुडिरहेको विद्युतीय मिनिबसमा अचानक आगलागी भएको छ।

    कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको सार्वजनिक विद्युतीय बसमा आइतबार बिहान करिब ६ः५० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। गुडिरहेको अवस्थामा बसबाट धुवाँ निस्कन थालेपछि केहीबेरमै आगो लागेको थियो।

    घटनाका समयमा बसमा चालक र सहचालक मात्र सवार थिए। धनगढी उपमहानगरपालिका–३ निवासी ३८ वर्षीय नरेन्द्र नेगीले बस चलाइरहेका थिए। आगलागी भएको थाहा पाएपछि चालक र सहचालक समयमै बसबाट बाहिर निस्कन सफल भएकाले मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।

    आगलागीबाट बसभित्र रहेका महत्वपूर्ण कागजात तथा व्यावसायिक प्रयोजनका लागि राखिएको ४२ हजार रुपैयाँ नगद जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

    आगलागीको सूचना प्राप्त भएपछि नेपाल प्रहरीको टोली तत्काल घटनास्थल पुगेको थियो। ठाकुरबाबा नगरपालिकाबाट आएको दमकल तथा स्थानीयको सहयोगमा बिहान ८ बजेसम्म आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

    आगलागीका कारण महेन्द्र राजमार्गको यातायात पूर्ण रूपमा अवरुद्ध नभएको प्रहरीले जनाएको छ। बसमा आगलागी हुनुको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar