कलाकार लक्षित स्वास्थ्य सहकार्यमा इनास नेपाल र कान्तिपुर डेन्टलको सम्झौता

  • कालिका खवर
  • शुक्रबार, पुस १८, २०८२
  • काठमाडौं । इन्टरनेशनल नेपाली आर्टिस्ट्स सोसाइटी (इनास) नेपाल च्याप्टर र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्र (केडीसी जनरल अस्पताल) बीच कलाकार तथा स्रष्टाहरूलाई लक्षित गर्दै स्वास्थ्य सहकार्यसम्बन्धी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ।

    सन् २०२६ जनवरी १ गते सम्पन्न उक्त सम्झौतामा इनास–नेपालका तर्फबाट अध्यक्ष ऋषि लामिछाने र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका तर्फबाट अस्पताल निर्देशक डा. प्रतिक्ष्या श्रेष्ठले हस्ताक्षर गरेका हुन्। सम्झौताले इनास नेपालका सदस्य, उनीहरूका परिवार तथा सिफारिस प्राप्त व्यक्तिहरूलाई सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।
    सम्झौताअनुसार केडीसी जनरल अस्पताल इनास नेपालको आधिकारिक स्वास्थ्य साझेदार रहनेछ। इनासका सदस्यहरूले भर्ना उपचार (आईपीडी) अन्तर्गत बेड तथा वार्ड शुल्कमा २५ प्रतिशत छुट, बाह्य रोगी तथा क्लिनिकल सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्। प्रयोगशाला, रेडियोलोजी, विशेषज्ञ उपचार, फार्मेसी, फिजियोथेरापी तथा दन्त सेवाअन्तर्गत इम्प्लान्ट, क्लियर अलाइनर, ब्रेसेस, आरसिटी तथा कस्मेटिक सर्जरीमा ७ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

    कार्यक्रमका प्रमुख अतिथि, इनास नेपाल च्याप्टरका संरक्षक तथा एसिया संयोजक दयाराम पाण्डेले कला, संस्कृति र स्वास्थ्य क्षेत्रलाई जोड्ने यो सहकार्य उदाहरणीय भएको बताए।“कलाकारको सिर्जनशीलता सुरक्षित राख्न स्वास्थ्य अत्यावश्यक छ। इनास र कान्तिपुर डेन्टलबीचको यो सम्झौताले कलाकारमैत्री सोचलाई संस्थागत रूपमा स्थापित गरेको छ,” पाण्डेले भने।

    इनास नेपालका अध्यक्ष ऋषि लामिछानेले कलाकारहरूको स्वास्थ्य सुरक्षाका लागि सम्झौता ऐतिहासिक भएको उल्लेख गरे।“कलाकारहरू निरन्तर यात्रामा र सिर्जनशील काममा व्यस्त रहन्छन्। यस्तो अवस्थामा स्वास्थ्य सेवा अत्यन्त महत्वपूर्ण हुन्छ। कान्तिपुर डेन्टल हस्पिटलसँगको यो सम्झौताले इनासका सदस्य र उनीहरूको परिवारलाई ठूलो भरोसा प्रदान गर्नेछ,” अध्यक्ष लामिछानेले भने।

    कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले कलाकार समुदायसँग सहकार्य गर्न पाउँदा गर्व महसुस भएको बताए।“कलाकार समाजका प्रेरणा हुन्। उनीहरूको स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्नु हाम्रो सामाजिक उत्तरदायित्व हो,” उनले बताए।

    त्यस्तै, कान्तिपुर डेन्टल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमाल रानाले सम्झौताले दीर्घकालीन सहकार्यको आधार तयार गरेको बताए।“यो एमओयू केवल कागजी सम्झौता होइन, कलाकारमैत्री स्वास्थ्य सेवाको व्यवहारिक सुरुवात हो। इनासका सदस्यलाई प्राथमिकता, सहुलियत र गुणस्तरीय सेवा दिन हामी पूर्ण प्रतिबद्ध छौँ,” सीईओ रानाले स्पष्ट पारे।

    रक्तदान कार्यक्रम पनि सम्पन्न सम्झौतासँगै सोही दिन इनास नेपाल र कान्तिपुर डेन्टल हस्पिटलको सहकार्यमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको छ। कान्तिपुर डेन्टल हस्पिटल परिसरमा आयोजित उक्त कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन्।

    रक्तदान कार्यक्रमका संयोजक तथा इनास नेपालका सचिव राजिन पनेरुले रक्तदानको महत्वबारे प्रकाश पारे।“रक्तदान जीवन बचाउने सबैभन्दा ठूलो मानवीय कार्य हो। आज ३० जना रक्तदाताको सहभागिताले इनास केवल कला संस्था मात्र नभई सामाजिक उत्तरदायित्व बोकेको संस्था हो भन्ने सन्देश दिएको छ,” सचिव पनेरुले बताए।

    रक्तदान कार्यक्रममा इनास नेपालका पदाधिकारी, सदस्य कलाकारहरू, चलचित्रकर्मी तथा सांस्कृतिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रममा इनास ग्लोबलका संरक्षक मिरा राणा, निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, चलचित्र कलाकार संघका पूर्व अध्यक्ष रविन्द्र खड्का, कलाकार गजित बिष्टलगायत थुप्रै कलाकारहरूको उपस्थिति रहेको थियो।
    त्यसैगरी इनास नेपालका उपाध्यक्ष रेजिना उप्रेती र युवराज चौलागाईं, महासचिव शंकर पाण्डेलगायत पदाधिकारीहरू र सदस्यहरूको सहभागिता रहेको थियो।

    इनास नेपालले रक्तदान गर्ने सम्पूर्ण रक्तदाताप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। आयोजकका अनुसार कान्तिपुर डेन्टल हस्पिटलले आवश्यक स्वास्थ्य परीक्षण तथा प्राविधिक सहयोग उपलब्ध गराएको थियो। दुवै संस्थाले आगामी दिनमा पनि स्वास्थ्य, कला र सामाजिक उत्तरदायित्वसँग जोडिएका यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar