किरण बिक भन्छन्: क्रिप्टो प्रतिबन्धले देशलाई घाटा, कानुनीकरणले अर्थतन्त्रलाई फाइदा

  • कालिका खवर
  • शुक्रबार, पुस १८, २०८२
  • किरण बिक आगामी संसदीय निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र–२ बाट उम्मेदवारी दिने तयारीमा रहेको संकेत गरेका छन्। उनले क्रिप्टोकरेन्सीको कानुनीकरण तथा नियमनलाई आफ्नो मुख्य राजनीतिक एजेन्डाका रूपमा अघि सारेका छन्। शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै बिकले पछिल्ला छ महिनादेखि निरन्तर रूपमा क्रिप्टोको वैधानिकताबारे आवाज उठाउँदै आएको बताए । उनका अनुसार नेपालमा हाल लागू कानुनले क्रिप्टोकरेन्सीसम्बन्धी गतिविधिलाई अपराधीकरण गर्दा युवाहरू सबैभन्दा बढी प्रभावित भएका छन्। क्रिप्टोसँग सम्बन्धित कारोबारका कारण धेरै युवा जेलमा रहेका र ठूलो परिमाणको सम्पत्ति राज्यको नियन्त्रणमा रहेको उल्लेख गर्दै उनले वर्तमान कानुन विश्वव्यापी प्रवृत्तिसँग मेल नखाने, अन्यायपूर्ण र पुरानो भएको दाबी गरे। बिकका अनुसार करिब २० लाख नेपाली नागरिक क्रिप्टो कारोबारमा रुचि राख्छन् भने झण्डै ५ लाख युवा दैनिक रूपमा क्रिप्टो गतिविधिमा संलग्न छन्।

    किरण बिकले क्रिप्टो पूर्ण रूपमा प्रतिबन्ध लगाउँदा यसको प्रयोग रोकिएको नभई युवाहरूलाई अवैध र असुरक्षित माध्यमतर्फ धकेलिएको बताए। यसका कारण ठगी, चोरी र आर्थिक अपराधको जोखिम बढेको उनको भनाइ छ। “क्रिप्टोलाई गैरकानुनी बनाउँदा अनजानमै युवाहरू अवैध नेटवर्कतर्फ आकर्षित भएका छन्,” उनले भने। वर्तमान कानुनले क्रिप्टो कारोबार रोक्न नसक्ने तर थप युवालाई जेल पठाउने जोखिम बढाउने भन्दै यसले देशलाई प्रत्यक्ष घाटा पुर्‍याउने उनको दाबी छ । बिकले सरकारले तत्काल स्पष्ट कानुन निर्माण गर्न, आवश्यक कानुनी प्रावधानहरू तय गर्न र क्रिप्टो तथा ब्लकचेन प्रविधिका लागि छुट्टै नियामक निकाय गठन गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार व्यवस्थित र नियमन गरिएको क्रिप्टो प्रणालीले देशको अर्थतन्त्र सुदृढ बनाउने र नेपाली युवाका लागि रोजगारी सिर्जना गर्ने ठूलो सम्भावना बोकेको छ।

    नेपालले अन्य मुलुकभन्दा अगाडि बढ्दै क्रिप्टो नीतिमा अग्रसरता लिनुपर्नेमा जोड दिँदै बिकले भने, समयमै निर्णय लिन सके नेपाल अन्तर्राष्ट्रिय ब्लकचेन र क्रिप्टो कम्पनीहरूको गन्तव्य बन्न सक्छ। “यदि नेपालले क्रिप्टोलाई सबैभन्दा चाँडो स्वीकार गर्ने देशहरूमध्ये एक बन्यो भने, यसले अन्य व्यवसायभन्दा धेरै सम्पत्ति र लगानी आकर्षित गर्न सक्छ,” उनले बताए। राजनीतिक रूपमा, क्रिप्टोको कानुनीकरणलाई स्पष्ट एजेन्डा बनाएकै कारण युवामाझ आफ्नो बलियो समर्थन बनेको दाबी गर्दै बिकले करिब ५ लाख मतदाताको प्रत्यक्ष समर्थन आफूलाई रहेको दाबी गरे। प्रविधिमैत्री युवा, टेक उद्यमी तथा जेन–जी पुस्तामाझ आफू युवा प्रतीक (युथ आइकन) का रूपमा उभिँदै गएको उनको भनाइ छ। आगामी दिनमा यदि आफू रुपन्देही–२ बाट प्रतिनिधि सभामा निर्वाचित भए, क्रिप्टो कारोबारका कारण जेलमा रहेका युवाहरूको रिहाइका लागि पहल गर्ने र जफत गरिएको सम्पत्ति कानुनी प्रक्रियामार्फत फिर्ता गराउन संसद्मा आवाज उठाउने प्रतिबद्धता उनले जनाए । हाल क्रिप्टोकरेन्सी नेपालमा गैरकानुनी रहेको यथार्थ स्वीकार गर्दै बिकले युवाहरूलाई कुनै पनि प्रकारको क्रिप्टो गतिविधिमा संलग्न नहुन आग्रह गरे। तर, यसलाई कानुनी बनाउन लोकतान्त्रिक र संवैधानिक प्रक्रियामार्फत एकजुट भएर संघर्ष गर्न युवाहरूलाई आह्वान गरे। वरिष्ठ नेताहरूलाई ब्लकचेन र क्रिप्टोजस्ता विश्वव्यापी प्रविधिगत परिवर्तन बुझाउन कठिन भएको उल्लेख गर्दै बिकले संसद्मा स्वयं पुगेर यो विषय उठाउनु नै प्रभावकारी उपाय ठानेको बताए। “पुराना नेताहरूले विश्वव्यापी प्रविधि परिवर्तन बुझ्न नसक्दा समय खेर गइरहेको छ, त्यसैले यो जिम्मेवारी मैले आफैं संसद्मा गएर लिने निर्णय गरेको हुँ,” उनले भने।

    क्रिप्टो कानुनीकरणलाई केन्द्रमा राखेर अघि बढेको किरण बिकको सम्भावित उम्मेदवारीले रुपन्देही–२ को राजनीतिक बहसमा प्रविधि, युवा र आर्थिक भविष्य केन्द्रित नयाँ विमर्श थप्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar