क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच बेइजिङमा भेटवार्ता

  • कालिका खवर
  • शुक्रबार, माघ २, २०८२
  • बेइजिङ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच बेइजिङमा ऐतिहासिक भेटवार्ता भएको छ। विगत एक दशकदेखि चिसिएको द्विपक्षीय सम्बन्धलाई पुनर्जीवित गर्दै दुवै देश व्यापारिक सम्झौताको खोजीमा जुटेका हुन्।

    सन् २०१८ मा हुवावेका शीर्ष अधिकारीलाई भ्यानकुभरमा पक्राउ गरेपछि ओटावा र बेइजिङबिचको सम्बन्ध निकै खराब भएको थियो। त्यसयता कुनै पनि क्यानेडियन प्रधानमन्त्रीले चीनको भ्रमण गरेका थिएनन्। अधिकारीहरूले यस भ्रमणलाई ‘परिणाममुखी र ऐतिहासिक’ कदमका रूपमा व्याख्या गरेका छन्।

    बुधबार साँझ चीन आइपुगेका प्रधानमन्त्री कार्नीले बिहीबार चिनियाँ प्रिमियर ली कियाङसँग भेट गरेपछि राष्ट्रपति सीसँग औपचारिक वार्ता गरेका हुन्। बैठकको सुरुवातमै कार्नीले कृषि, ऊर्जा र वित्त जस्ता क्षेत्रमा दुवै पक्षले मिलेर काम गर्नुपर्नेमा जोड दिए।

    यी क्षेत्रमा तत्काल प्रगति गर्न सकिने सम्भावना रहेको औँल्याउँदै उनले दुई देशबिचको पुरानो सम्बन्धलाई अझ सुदृढ बनाएर नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। कार्नीका अनुसार यो सहकार्यले दुवै देशका जनताका लागि स्थिरता, सुरक्षा र समृद्धि सुनिश्चित गर्नेछ।

    राष्ट्रपति सी जिनपिङले आठ वर्षपछि क्यानेडियन प्रधानमन्त्रीको चीन भ्रमण हुनुलाई सकारात्मक रूपमा लिँदै गत वर्ष दक्षिण कोरियामा भएको भेटपछि सम्बन्धमा ‘सुधारको मोड’ आएको बताए। चीन र क्यानडाबिचको स्वस्थ र स्थिर विकासले विश्व शान्ति, स्थिरता र समृद्धिमा टेवा पुग्ने सीको भनाइ थियो।

    उनले इतिहास र जनताप्रति जिम्मेवार हुँदै सम्बन्धलाई अझ अगाडि बढाउन चीन इच्छुक रहेको स्पष्ट पारे। यसअघि चिनियाँ प्रिमियर ली कियाङले पनि यसलाई दुई देशबिचको सम्बन्धको ‘नयाँ प्रस्थान बिन्दु’ भएको टिप्पणी गरेका थिए।

    क्यानडाले आफ्नो सबैभन्दा ठुलो व्यापारिक साझेदार अमेरिकामाथिको निर्भरता कम गर्न र नयाँ आर्थिक अवसरहरू खोज्नका लागि चीनसँगको सम्बन्धलाई फेरि सुधार्न चाहेको देखिन्छ। बेइजिङको भ्रमण सकेर प्रधानमन्त्री कार्नी भोलि कतारका अमिरसँग वार्ता गर्न दोहा प्रस्थान गर्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar