जगदम्बा मोबाइलको डेढ अर्ब कारोबार, १३.०३ प्रतिशतले घट्यो व्यापार

  • कालिका खवर
  • आइतवार, कार्तिक १६, २०८२
  • काठमाडौं । रियलमी ब्रान्डका स्मार्टफोन नेपालमा आयात र वितरण गर्दै आएको जगदम्बा मोबाइलले सन् २०२५ मा करिब डेढ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ। कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ७९ करोड ५० लाख रुपैयाँ बराबरको मोबाइल बिक्री गरेको हो। तर, यो अघिल्लो वर्षको तुलनामा १३.०३ प्रतिशतले कम भएको छ। सन् २०२४ मा कम्पनीले २ अर्ब ६ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो।

    नेपालको मोबाइल बजारमा रियलमीको ७ प्रतिशत हिस्सा रहेको छ। कम्पनीले भारतबाट चीनमा उत्पादन स्थानान्तरण गरेपछि आयात व्यवस्थापनमा परेको प्रभावका कारण कारोबारमा कमी आएको जनाएको छ।

    सन् २०२२ देखि अहिलेसम्म कम्पनीले ९ अर्ब ८६ करोड ८० लाख रुपैयाँ बराबरको मोबाइल बिक्री गरेको छ। सन् २०२२ मा ३ अर्ब २४ करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा २ अर्ब ७६ करोड २० लाख रुपैयाँ बराबरका मोबाइल बिक्री भएका थिए।

    सन् २०११ मा स्थापित जगदम्बा मोबाइल, शंकर ग्रुप अन्तर्गतको संस्था हो। कम्पनीले चीनमा उत्पादित रियलमी स्मार्टफोन र एक्सेसरी मात्र होइन, सफारी लगेज र बोल्ट अडियो डिभाइस पनि नेपालमा वितरण गर्दै आएको छ। कम्पनीमा सुलभ अग्रवालको सम्पूर्ण स्वामित्व रहेको छ।

    अघिल्ला वर्षहरूमा नाफा कमाउँदै आएको कम्पनीले सन् २०२५ मा भने नाफा कमाउन नसकेको जनाएको छ। सन् २०२४ मा कम्पनीको नाफा ४.२० प्रतिशत र सन् २०२३ मा ५.०४ प्रतिशत रहेको थियो। यसबाहेक कम्पनीले अल्पकालीन कर्जाका लागि ९० करोड रुपैयाँको क्रेडिट रेटिङ गराएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar