जेनजी आन्दोलनबाट उदाएका संजय महतो: “देशको नक्सा कोर्न राजनीतिमा आएको हुँ”

  • कालिका खवर
  • बिहिबार, फाल्गुन ७, २०८२
  • विद्यार्थी राजनितीबाट उदाएर अव संसद भवनमा बोल्न तयार युवा इन्जिनियर हुन् संजय कुमार महतो । धनुषा जिल्ला बट्टेश्वर गाउँपालिका वडा नं १ मा जन्मिएका संजयको बाल्यकाल आम बालबालिकाको भन्दा केहि फरक रहन गयो । कारण थियो उनको बोली ।

    संजयको बोली ९ बर्षसम्म फुटेन । तर ९ बर्षपछि बिस्तारै बोल्न सुरु गरे । कक्षा १२ सम्म पढ्दा उनको बोली १० प्रतिशतले मात्रै बुझ्थे तर अहिले उनको त्यहि बोली नै शक्तिशाली छ । बाल्यकाल स्मरण गर्दै सञ्जयले भने, म दुई कक्षामा पढ्दा एकदिन बुबाले सोध्नुभयो ठुलो भएपछि के बन्छस् ?

    मैले कापीमा लेखें, इन्जिनियर र नेता । यो देखेर बुबा खिस्स हाँस्नभयो तर मैले ठानेको काम गरें । इन्जिनियर भएर काम गर्न थालेको १० बर्ष भयो । धेरै ठाउँको नक्सा कोरें । अब देशको नक्सा कोर्न राजनितीमा आएको छु, म जत्तिको युवालाई मत दिएर माया गर्नुहुन्छ भन्ने लागेको छ ।

    भाषण गर्ने बानी नभएपनि सञ्जय आफ्ना तर्क र विचारलाई शक्तिशाली तरिकाले राख्न सक्छन् । उनको बोलीमा विश्वास छ । सायद ढिलो बोलेकाले होला उनलाई आफ्नो बोली संसारभर सुनाउन मन छ ।

    सानैदेखि संजय गणितमा निपुर्ण । अहिले पनि आम मानिसलाई क्यालकुलेटर चाहिने भारी अंक एक्कैछिनमा हिसाव गरेर निकाल्न सक्छन् । जतिनै निपुर्ण भएपनि चुनावमा आउने मतको अंकगणित भने उनले ठ्याक्कै निकाल्न सकेका छैनन् ।

    उनलाई लाग्छ, उनि जत्तिको युवाको अंक अरु भन्दा माथी नै हुनुपर्छ । तर दायाँबायाँ हेर्दा सबैको जित्ने सम्भावना बरावर छ । सञ्जय भन्छन्, एकसँग पैसा छ, एकसँग संगठन छ, अनि अर्कोसँग हावा । मसँग युवाको साथ र सपोर्ट छ । उनले विस्वासका साथ भने, तर म नै यी सबैभन्दा भारी छु, किनभने म युवा हुँ र मसँग युवा शक्ति छ । इन्जिनियर हुँ । नयाँ उमेदवार पनि हुँ, भदौको २३ र २४ गतेको जेनजी आन्दोलनले खोजेजस्तै नेता हुँ ।

    संजयले २०६९ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको थापाथली क्याम्पसबाट इन्जिनियरिङमा स्नातक गरेका छन्। बिभिन्न सरकारी कार्यलयहरुसँग आवद्ध भएर काम गरे । धनुषा जिल्लाकै पनि सरकारी कार्यलयको डिपिआर देखि खानेपानीका काम उनले गरिसकेका छन् ।

    राजनिती उनले परिवारबाटै सिके । हजुरबुबादेखि उनका बुबासम्मले संजयको रगतमा कम्युनिष्ट बिचार दौडाउन सहयोग गरे । पञ्चायतकालको विरुद्ध हजुरवुवा लडे । उनका बुवा २०५४ सालमा जनमोर्चाबाट वडा अध्यक्ष निर्वाचित भएका थिए। पार्टी एकीकरणपछि पनि बुवा राजनीतिमै सक्रिय थिए। तर, पारिवारिक आर्थिक जिम्मेवारीले गर्दा बुवाले राजनीतिलाई निरन्तरता दिन सकेनन्। छोरीको बिहे गर्दा दाइजोका कारण ऋणको भारी बोक्न परेपछि बुबाले सक्रिय राजनिती छाडेका थिए । अहिले विध्यार्थी राजनिती हुँदै जेन्जी आन्दोलनमा संजयले आफ्नो सक्रियता देखाए ।

    पुल्चोक क्याम्पसमा पढेपछि यसले थप आकार लियो । उनी तत्कालीन माओवादीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीमा आबद्ध भए। सुरुवाती चरणमा क्लास कमिटीबाट राजनीति सुरू गरेका उनले रञ्जित तामाङ अध्यक्ष हुँदा बागमती प्रदेश कमिटी मार्फत केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाले। पछि पञ्चा सिंह अध्यक्ष हुँदा उनले सचिवालय सचिवको रूपमा काम गरे।
    जेनजी आन्दोलनको प्रभावका कारण उनले पार्टीबाट टिकट पाए र अहिले धनुषा क्षेत्र नं ४ बाट प्रतिनिधी सभाको निर्वाचनमा उभ्भिएका छन् ।

    संजयका आमा बुबा कृषि गर्छन् । अहिलेपनि उनका बुबा बर्दिवासका सडकमा उभ्भिएर आलु र अन्य तरकारी बेच्छन् । किसानले भोगिरहेका समस्यालाई उनले नजिकबाट नियालेका छन् ।
    संजयको बिबाह पनि परम्परागत भन्दा भिन्न तरिकाले भयो । मधेशमा जातियताको खाडल ठुलै छ तर उनले अन्तरजातिय बिबाह गरे । साहकी छोरी उनको धर्मपत्नी बन्न आइपुगिन् । पेशाले पनि यहाँको चलन भन्दा भिन्न । यहाँ इन्जिनियर छोरी भए ज्वाईँ पनि इन्जिनियर, डाक्टर छोरी भए ज्वाईँ पनि डाक्टर खोज्ने चलन छ । उनको श्रीमती डाक्टर अनि संजय इन्जिनियर । यसमा पनि बिद्रोह नै जस्तो भयो । दाइजो प्रथालाई मेटेर बेहुलीको सम्पुर्ण खर्च समेत उनैले बेहोरेको संजय हाँस्दै सुनाउँछन् ।

    काम गर्ने क्रममा, कतिपय समय र स्थानमा निती नियमकै कारण समावेशी र सन्तुलित बिकास हुन नसकेको अनुभव गरेको उनि राजनितीमा आए ।

    संजय भन्छन्, चुनावको समयमा म यस्तो वा त्यस्तो गर्छु भनेर आसा बाँड्ने काम गर्दिनँ । पहिले पेशागत रूपले विकास निर्माणको काम गरिरहेको मानिस हुँ, अब गर्ने पनि देश विकासकै काम हो । मधेशलाइ राम्रोसँग बुझेकाले अब गर्ने मधेशकै विकास हो, त्यो पनि समय अनुसार स्मार्ट तरिकाले । विकास गर्छु भनेर, अब बाटो खनेर मात्रै पुग्दैन ।

    उनका अनुसार अबको काम भनेकै शिक्षालाइ बैज्ञानिक र प्राविधिक बनाउने हो । समय अनुसारको शिक्षामा जोड दिन सकेमात्रै बेरोजगार मुक्त मधेश निर्माण गर्न सक्ने उनको धारणा छ ।

    नितीगत परिवर्तनका लागि शिक्षाको बिषयमा एउटा सांसदले मात्र चाहेर केही गर्न सक्ने अबस्था छैन त्यसैले शिक्षाको बिषयलाई सदनमा जोडदार रुपमा उठाउनुपर्ने उनि बताउँछन् ।

    अस्पताल, स्वास्थ्य चौकी त बने । अझै कतिपय ठाउँमा त चाहिने भन्दा बढि नै बने । यहि बहानामा नितिगत भ्रष्टाचार पनि कति भए कति । तर अस्पतालमा चाहिने मेशिन तथा अन्य प्रविधिगत काममा कसैको ध्यान जान सकेन । औषधीमा कमिसनको खेल अति डरलाग्दो छ तर सम्वन्धित निकाय आँखा चिम्लेर बसेको छ । यस्तै वेथितीले त जेनजीको आन्दोलन भयो । म जस्ता युवाले रगत बगाएको घटना ताजै छ । त्यै रगत खेर जान नदिन पनि संजय जत्तिको युवाले भोट पाउनैपर्छ भन्ने उनलाई लाग्छ ।

    संजयको भनाईमा, नेपालले अहिले गर्न नसकेको विकास भोली कहिल्यै गर्न सक्दैन । यसको कारण युवाशक्ति नै हो । अन्य देश बृद्दाआश्रम बनिरहेका छन् । युवा छैनन् । तर दुर्भाग्य हाम्रो देशमा नेपालको कुल जनसंख्याको ४२.५ युवा हुँदा पनि देश रित्तिएको छ । यो रहर हैन बाध्यता हो ।

    यसका लागि शिक्षा त पुग्यो घरघरमा तर त्यो प्राविधिक बन्न सकेन । जिवनउपयोगी बन्न सकेन । त्यसैले अब प्राविधिक, सिपमुलक तथा जिवनउपयोगी शिक्षाको लगानीमा जोड दिनैपर्ने उनको मान्यता छ ।

    उनि भन्छन्, प्रतिनिधि सभाको सांसद बनेर गएपछि युवा पुस्ता, बौद्धिक बर्ग, समाज, गाउँ र यस क्षत्रका आम नागरिककसँग हुनेछ पार्टीका कार्यकर्तासँग मात्र होइन ।

    युवा नेत्रित्व खोजेर देशले यति ठुलो आन्दोलन छेड्यो । यसलाई खेर जान नदिने हिसावले नै मैले उमेदवारी दिएको हुँ, संजयले जोड दिएर भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar