गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो : प्रचण्ड

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ १५, २०८३
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रको विकल्प अझ समुन्नत र समावेशी गणतन्त्र भएको बताएका छन् ।

    गणतन्त्र दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, हजारौं सहिदहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका छन् । उनले भने, ‘नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र विभिन्न कालखण्डमा नेपाली जनताले गरेको लामो संघर्ष, हजारौं सहिदहरूको बलिदान, त्याग र समर्पणको ऐतिहासिक उपलब्धि हो । यो व्यवस्था कुनै व्यक्ति वा दलको नभएर परिवर्तनका आकांक्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि हो ।’ उनले संविधानको मूल मर्मबाट पछि हट्ने वा यसका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई नभएको उल्लेख गरेका छन् ।

    प्रचण्डले भने, ‘संविधानको कार्यान्वयनमा देखिएका कमजोरीहरूलाई सच्याउँदै, राज्य सञ्चालनको प्रक्रियामा विद्यमान परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्नु आजको आवश्यकता हो । जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै साँचो अर्थमा गणतन्त्रप्रतिको सम्मान हो ।’

    उनले ‘गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो’ भन्दै समावेशी तथा पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गर्नुपर्ने धारणा राखे । साथै, उपेक्षित, उत्पीडित वर्ग, समुदाय र क्षेत्रका अधिकारलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।

    प्रचण्डले राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि सबै राजनीतिक शक्ति तथा नागरिकबीच एकता आवश्यक रहेको बताए । उनले सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माण साझा राष्ट्रिय संकल्प भएको उल्लेख गरे ।

    उनले भने, ‘हामीबीच राजनीतिक मतभेद हुन सक्छन्, संसदीय परिपाटीमा संख्यात्मक अंकगणित फरक हुनसक्छ, तर राष्ट्रिय सरोकारका मुद्दामा संवाद र सहकार्य हाम्रो संस्कार बन्नुपर्छ । संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो ।’ परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने कुनै पनि प्रयासप्रति सचेत रहन आग्रह गर्दै उनले समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबै एकजुट हुनुपर्ने आह्वान गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar