विद्युतीय सवारीलाई लोकप्रिय बनाउन यो अटो शोले निर्णायक भूमिका खेल्छ : करण चौधरी

  • कालिका खवर
  • आइतवार, भदौ १, २०८२
  • काठमाडौं । नाडा अटो शो २०२५ को विषयमा आधारित कालिका खबरका सम्पादक राजकुमार सिलवालले नाडाका अध्यक्ष करण चौधरीसँग गर्नुभएको छोटो कुराकानी  :

    प्रश्न: यसपटकको NADA अटो शो नेपालकै सबैभन्दा ठूलो र ऐतिहासिक भनेर भनिएको छ, त्यसको आधार के हो?

    करण चौधरी:
    यो वर्षको अटो शो केवल १७औँ संस्करण मात्र होइन, नेपालको अटोमोबाइल इतिहासमै एउटा “माइलस्टोन” हो। सन् १९९८ मा सुरु भएको यात्राले १६ सफल संस्करण पार गरिसकेको छ। तर २०२५ को अटो शो आकार, सहभागिता र प्रविधि दुवै हिसाबले अभूतपूर्व छ।
    यसपटक १२५ भन्दा बढी स्टल, ३० भन्दा बढी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्डहरूको सहभागिता, नवीनतम प्राविधिक प्रदर्शन, स्मार्ट मोबिलिटी समाधान र विश्वस्तरका नवप्रवर्तनहरू एउटै छानामुनि देख्न पाइनेछन्। यही कारण यसलाई नेपालकै सबैभन्दा ठूलो र ऐतिहासिक अटो शो भनिएको हो।

    प्रश्न: प्रदर्शनीमा कुन नयाँ प्रविधि वा इनोभेसनलाई मुख्य आकर्षणको रूपमा प्रस्तुत गर्न लागिएको छ?

    करण चौधरी:
    यसपटकको अटो शो भविष्यको मोबिलिटीलाई प्रत्यक्ष देखाउने “विन्डो” बन्नेछ। पहिलोपटक नेपालमा Deepal eVTOL Flying Taxi ल्याइँदैछ, जसले हवाई यातायातलाई नयाँ आयाम दिने संकेत गर्छ।
    त्यस्तै, Unitree Robotics का अत्याधुनिक चारपाङ्ग्रे डग रोबोटदेखि मानव आकृतिका रोबोटसम्म प्रत्यक्ष देख्न पाइनेछन्। यी प्रविधिहरू केवल प्रदर्शन मात्र होइन, भविष्यमा हाम्रो दैनिक जीवनसँग जोडिने सम्भावनाको झलक पनि हुन्। त्यसैले यी इनोभेसनहरू यस शोको केन्द्रिय आकर्षण हुनेछन्।

    प्रश्न: नेपालमा विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्न यो अटो शोले कस्तो योगदान गर्नेछ?

    करण चौधरी:
    नाडा अटो शो सधैं नयाँ प्रविधिलाई बजारसम्म पुर्‍याउने पुलको रूपमा काम गर्दै आएको छ। यसपटक पनि ईभी, हाइब्रिड र क्लीन मोबिलिटी समाधानहरू शोको केन्द्रमा छन्।
    उपभोक्ताले विभिन्न कम्पनीका ईभी मोडल, चार्जिङ समाधान, बिक्रीपछिका सेवा र मूल्य योजनाबारे प्रत्यक्ष तुलना गर्ने अवसर पाउनेछन्। यस्तो प्रत्यक्ष अनुभवले उपभोक्ताको विश्वास बढाउँछ, व्यवसायीलाई माग विस्तार गर्ने अवसर दिन्छ, र दीर्घकालीन रूपमा नेपाललाई हरित मोबिलिटी तर्फ धकेल्छ। यसैले, अटो शो विद्युतीय सवारीलाई व्यवहारिक, लोकप्रिय र दिगो बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँछ।

    प्रश्न: अटो शो आयोजना गर्दा आयात प्रतिबन्ध, कर नीति र बजार चुनौती जस्ता समस्यालाई कसरी सम्बोधन गर्नुभयो?

    करण चौधरी:
    अटो उद्योगले पछिल्ला वर्षमा कडा चुनौतीहरू भोगेको हो, आयातमा रोक, उच्च ब्याजदर र उपभोक्ता मागको गिरावट। तर यसपटक सरकारले कस्टम ड्युटी र एक्साइज ड्युटीमा परिवर्तन नगरेको निर्णयलाई सकारात्मक रूपमा लिनुपर्छ। यसले उद्योगलाई स्थायित्व दिएको छ र उपभोक्ताको मनोबल बढाएको छ।
    नाडाले निरन्तर सरकारसँग संवाद गर्दै आएको छ, र अझ सहज नीति, लगानीमैत्री वातावरण र दीर्घकालीन उद्योग रणनीतिमा जोड दिएको छ। अटो शो आफैं पनि एउटा सन्देश हो—हामी कठिनाइलाई पराजित गरेर अझ सबल र भविष्यमुखी यात्रातर्फ अघि बढिरहेका छौं।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar