देशभर घरजग्गा कारोबार सुस्त, चार महिनादेखि राजस्व संकलन निरन्तर ओरालो

  • कालिका खवर
  • शुक्रबार, मंसिर ५, २०८२
  • काठमाडौं। देशभर घरजग्गा कारोबार क्रमशः घट्दै गएको देखिएको छ। कारोबारमा आएको गिरावटसँगै सरकारी राजस्व संकलन पनि निरन्तर घट्दै गएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा मालपोत कार्यालयमार्फत संकलन हुने राजस्व औसत रूपमा तल झरेको तथ्यांकले देखाउँछ।

    सरकारले हालै घरजग्गा कारोबार सहज बनाउन भू–उपयोग (तेस्रो संशोधन) नियमावली संशोधन गरेको भए पनि राजस्व संकलनमा त्यसको खासै सकारात्मक प्रभाव परेको छैन। विभागका अनुसार साउनयता प्रत्येक महिनामा राजस्व संकलन घट्दो क्रममा छ।

    गत साउनमा देशभरका मालपोत कार्यालयले कुल रु ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ बराबरको राजस्व संकलन गरेका थिए। भदौमा यो घटेर रु ३ अर्ब १४ करोड ७ लाख १६ हजार ३३५ मा झर्यो। असोज महिनामा संकलन झनै ओरालो लाग्दै रु २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ मा सीमित भयो।

    सबैभन्दा पछिल्लो कात्तिक महिनामा राजस्व संकलन थप घटेर रु २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ मा पुगेको विभागले जनाएको छ।

    विभागका अनुसार कात्तिक महिनामा मात्रै सेवा करमार्फत रु २१ करोड ३४ लाख ४७ हजार ४१३, रजिष्ट्रेसन दस्तुरबाट रु १ अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ र पुँजीगत लाभकरमार्फत रु ९९ करोड ७८ लाख ४४ हजार ३९२ संकलन भएको छ।

    लगातार घट्दै गएको कारोबारले घरजग्गा बजार सुस्त भएको स्पष्ट संकेत गरेको विभागले उल्लेख गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar