छपकैयामा घरदैलो गर्दै रास्वपा उम्मेदवार कानुले भने, “जिताएर पठाउनुस् सय दिन भित्र परिवर्तनको अनुभूति दिलाउँछु”

  • कालिका खवर
  • बुधबार, फाल्गुन ६, २०८२
  • वीरगञ्ज – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले बुधबार घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्। उनले वीरगञ्ज महानगरपालिका–३ छपकैयामा स्थानीय मतदातासँग अन्तरक्रिया गर्दै आफ्ना विकासका योजना र प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

    घरदैलो अभियानका क्रममा कानुले रास्वपाको करार पत्रअनुसार पाँच वर्षसम्म जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे। जनताको जीवनस्तर उकास्ने र भुईँ तहका नागरिकको आवाज संसद्मा पुर्‍याउने आफ्नो मुख्य लक्ष्य रहेको उनले बताए। “मसँग पर्साको सर्वाङ्गीण विकासका लागि स्पष्ट एजेन्डा, रोडम्याप र ब्लु प्रिन्ट छ,” उनले भने, “निर्वाचित भएको सय दिनभित्रै जिल्ला र क्षेत्रवासीले परिवर्तनको अनुभूति गर्नुहुनेछ।”

    कानुले विगतका निर्वाचित जनप्रतिनिधिहरूमाथि आलोचना गर्दै रोजगारी, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेखनीय प्रगति हुन नसकेको दाबी गरे। “आज पनि यो क्षेत्र २० वर्षअघिको जस्तै अवस्थामा छ,” उनले भने, “म निर्वाचित भएपछि यो अवस्था परिवर्तन गर्नेछु।”

    आफूसँग काम गर्ने अनुभव रहेको र जनतालाई निराश नपार्ने विश्वास व्यक्त गर्दै उनले मतदातालाई रास्वपाको चुनाव चिन्ह ‘घण्टी’मा मतदान गर्न आग्रह गरे। साथै, पार्टीका सबै उम्मेदवारलाई विजयी गराएर मधेसी समुदायका बालेन्द्र शाह (बालेन) लाई देशकै पहिलो प्रधानमन्त्री बनाउन सकिने धारणा राखे।

    कानुले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताउँदै मुस्लिम महिला तथा युवालाई रोजगारीमुखी र सीपमूलक तालिम प्रदान गर्ने योजना रहेको जानकारी दिए।

    कार्यक्रममा छपकैयाका स्थानीयवासी, विशेषगरी युवाहरू र ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। युवाहरूले कानुको उत्साहपूर्वक स्वागत गर्दै “परिवर्तनका लागि घण्टीमा मत हालौँ” भन्ने नारासमेत लगाएका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar