भन्सार छलिका कपडा तथा किराना सामान बरामद, रु १४ लाखभन्दा बढीको सामान भन्सार दाखिला

  • कालिका खवर
  • शनिबार, बैशाख २६, २०८३
  • पर्सा। सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलि गरी नेपाल भित्र्याइएका कपडा तथा किराना सामान बरामद गर्दै रु १४ लाखभन्दा बढी मूल्य बराबरका सामग्री भन्सार दाखिला गरेको छ।

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्साका अनुसार मिति २०८३ वैशाख २६ गते प्राप्त विशेष सूचनाको आधारमा गरिएको संयुक्त कारबाहीमा उक्त सामान बरामद गरिएको हो।

    जिल्ला बारा विश्रामपुर गाउँपालिका–५ नकटुवा विर्ताटोलस्थित गोठमा भन्सार छलि चोरी पैठारी गरी कपडा भण्डारण गरिएको सूचनापछि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म बाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा खटिएको टोली तथा वीरगञ्ज भन्सार कार्यालय को संयुक्त टोलीले छापामारी गरेको थियो।

    उक्त कारबाहीका क्रममा करिब रु ११ लाख ७५ हजार ५ सय बराबरका १७ पोका कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका कपडा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ।

    त्यसैगरी जिल्ला पर्सा जिराभवानी गाउँपालिका–१ बलुवा क्षेत्रमा भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका किराना सामान कच्ची घरमा लुकाईछिपाई राखिएको भन्ने सूचनाको आधारमा अर्को संयुक्त टोली परिचालन गरिएको थियो।

    सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म बाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन बोगटीको नेतृत्वमा खटिएको टोली, प्रहरी चौकी बलुवा तथा वीरगञ्ज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले खानतलासी गर्दा रु २ लाख ३५ हजार ५ सय बराबरका किराना सामान बरामद गरेको जनाएको छ।

    बरामद गरिएका सम्पूर्ण किराना सामानसमेत आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

    सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी पैठारी तथा भन्सार छलि नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी र संयुक्त कारबाहीलाई अझ कडाइका साथ अगाडि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

    यस सम्बन्धमा जानकारी दिँदै सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि निरन्तर विशेष अपरेशन सञ्चालन भइरहेको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar