नेपाली बजारमा आउँदै एमजीको नयाँ इलेक्ट्रिक एसयूभी ‘एमजी एस ६’

  • कालिका खवर
  • शुक्रबार, बैशाख २५, २०८३
  • काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी) प्रति आकर्षण तीव्र रूपमा बढिरहेका बेला प्रतिष्ठित अटोमोबाइल ब्रान्ड एमजीले आफ्नो नयाँ मिड–साइज इलेक्ट्रिक एसयूभी ‘एमजी एस ६’ नेपाली बजारमा ल्याउने भएको छ।

    नेपालका लागि एमजीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स⁠� ले आगामी सोमबार (वैशाख २८ गते) विशेष कार्यक्रममार्फत उक्त गाडी सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

    गत वर्ष सार्वजनिक भएको एमजी एस ५ को सफलतापछि कम्पनीले अझ शक्तिशाली, ठूलो साइज र आधुनिक प्रविधिले सुसज्जित नयाँ मोडल नेपाली ग्राहकसमक्ष ल्याउन लागेको हो। विशेषगरी प्रिमियम फिचर र लामो दूरीको यात्रा गर्न चाहने परिवारलाई लक्षित गरी तयार गरिएको यो एसयूभीले नेपाली ईभी बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।

    कम्पनीका अनुसार औपचारिक सार्वजनिक भएसँगै देशभर रहेका एमजीका १४ वटा शोरुममार्फत गाडीको बुकिङ तथा बिक्री वितरण सुरु गरिनेछ। आकर्षक डिजाइन, उत्कृष्ट रेन्ज र आधुनिक सुविधाका कारण यो गाडी नेपाली ग्राहकका लागि भरपर्दो विकल्प बन्न सक्ने अपेक्षा गरिएको छ।

    प्राविधिक रूपमा एमजी एस ६ निकै शक्तिशाली मानिएको छ। यसमा १८० किलोवाटको इलेक्ट्रिक मोटर र ७७ किलोवाट आवर क्षमताको ठूलो ब्याट्री प्याक जडान गरिएको छ। कम्पनीका अनुसार यसले एक पटकको फुल चार्जमा डब्लुएलटीपी मापदण्डअनुसार ५२९ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने क्षमता राख्छ।

    रियर ह्विल ड्राइभ प्रणालीमा आधारित यो गाडीले २४४ हर्सपावर र ३५० एनएम टर्क उत्पादन गर्छ। त्यसैले पहाडी तथा कठिन सडकमा समेत यसको प्रदर्शन प्रभावकारी रहने विश्वास गरिएको छ। साथै, १४४ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट भएकाले छोटो समयमा चार्ज गरेर लामो दूरीको यात्रा गर्न सकिने सुविधा पनि उपलब्ध हुनेछ।

    ४ हजार ७०८ एमएम लम्बाइ र २ हजार ८३५ एमएम ह्विलबेस रहेको यो एसयूभीलाई अन्तर्राष्ट्रिय बजारमा Tesla Model Y को प्रतिस्पर्धीका रूपमा हेरिएको छ। नेपालको सडक अवस्थालाई ध्यानमा राखेर करिब १९० एमएम ग्राउन्ड क्लियरेन्स प्रदान गरिएको कम्पनीले जनाएको छ।

    एमजीको मोड्युलर स्केलेबल प्लेटफर्ममा आधारित यस गाडीमा कम्पनीको चर्चित MG Cyberster बाट प्रेरित एंगुलर हेडल्याम्प र आकर्षक फ्रन्ट फासिया प्रयोग गरिएको छ।

    गाडीको बाहिरी डिजाइन आक्रामक र आधुनिक देखिए पनि भित्री भागलाई आरामदायी तथा विलासी बनाइएको छ। इन्टेरियरमा १२.८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले तथा ११ वटा स्पिकरयुक्त अडियो सिस्टम जडान गरिएको छ।
    व्यावहारिकता र सुरक्षालाई पनि कम्पनीले प्राथमिकता दिएको छ। गाडीमा ६७४ लिटर क्षमताको बुट स्पेस उपलब्ध छ, जसलाई पछाडिका सिट फोल्ड गरेपछि १,९१० लिटरसम्म विस्तार गर्न सकिन्छ।

    सुरक्षाका हिसाबले यसले प्रतिष्ठित ‘युरो एनक्याप’ बाट ५-स्टार सेफ्टी रेटिङ प्राप्त गरेको बताइएको छ। साथै प्यानोरामिक सनरुफ, वायरलेस चार्जिङ र इन–बिल्ट युट्युब स्ट्रिमिङ जस्ता आधुनिक फिचरले यसलाई थप आकर्षक बनाएका छन्।

    नेपाली बजारमा हाल उपलब्ध BYD Sealion 7, Deepal S07 र Leapmotor C10 यसका मुख्य प्रतिस्पर्धी मानिएका छन्। ती मोडलहरूको मूल्य ६५ लाखदेखि ८० लाख रुपैयाँसम्म रहेको छ। एमजीले पनि एस ६ लाई प्रतिस्पर्धात्मक मूल्यमा बजारमा ल्याउने तयारी गरिरहेकाले यसको सुरुवाती मूल्य करिब ६५ लाख रुपैयाँ आसपास रहने अनुमान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar