अमेरिकी स्वतन्त्रताको २५० औं वार्षिकोत्सव : ट्रम्पले भने– अमेरिका विश्वको गौरवको प्रतीक

  • कालिका खवर
  • आइतवार, असार २१, २०८३
  • काठमाडौं । संयुक्त राज्य अमेरिकाले आज स्वतन्त्रताको २५० औं वार्षिकोत्सव मनाइरहेको छ । यस अवसरमा आज अमेरिकाको पेन्सिलभेनिया, न्युयोर्क र वासिङ्टन डिसी लगायत सबै राज्यमा परेड, ऐतिहासिक कार्यक्रम र  सांगीतिक कन्सर्टहरू आयोजना भइरहेको छ ।

    यसैबीच, वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधन सुरु भएको छ । राष्ट्रपति ट्रम्पले विगत साढे दुई शताब्दीदेखि अमेरिका विश्वका लागि आशा, विश्वास, प्रकाश र गौरवको प्रतीक रहँदै आएको दाबी गरे । उनले भने, ‘भगवानको कृपाले हामी भविष्यमा पनि यस्तै रहनेछौँ र वास्तवमा, अझ उत्कृष्ट बन्नेछौँ ।’

    ट्रम्पले ४ जुलाई १७७६ देखि ४ जुलाई २०२६ सम्मको अवधिमा अमेरिकाले निरंकुशतामाथिको विजय, स्वतन्त्रताको दमनमाथिको जित र अमेरिकी भावनाको शक्ति विश्वसामु प्रदर्शन गरेको बताए । राष्ट्रपति ट्रम्पले भने, ‘आज हाम्रो देश पहिलेभन्दा बढी बलियो, स्वतन्त्र, समृद्ध र सुरक्षित छ, साथै यहाँ गर्वको भावना पनि अझ बढेको छ ।’ यस्तै, सम्बोधनका क्रममा ट्रम्पले कम्युनिज्मको आलोचना गरे । उनले भने, ‘हामी हाम्रो देशमा कम्युनिष्टहरू चाहँदैनौँ ।’

    ट्रम्पले अमेरिकाको पहिचान स्वतन्त्रता, लोकतन्त्र र देशभक्तिबाट हुने र यी मूल्यमान्यताहरूसँग कुनै सम्झौता नगरिने पनि बताए । वर्षा र खराब मौसमका कारण कार्यक्रम ढिला सुरु भएको थियो । ह्वाइट हाउसका अनुसार ट्रम्पको सम्बोधनपछि इतिहासकै सबैभन्दा ठूलो आतिशबाजी प्रदर्शन गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar