भारतमा पहिलोपटक १,००० किमि लामो दूरीको क्षेप्यास्त्र परीक्षण गर्दै जापान

  • कालिका खवर
  • शुक्रबार, मंसिर ४, २०८३
  • टोकियो । भारत र जापानले बिहीबार रक्षा सहयोगसम्बन्धी एक महत्त्वपूर्ण सहमती गरेको छ ।

    भारतीय रक्षामन्त्री राजनाथ सिंह र विदेश मन्त्री एस जयशंकरको टोलीले टोकियो भ्रमणका क्रममा भारतीय क्षेप्यास्त्र परीक्षण केन्द्रको प्रयोगका विषयमा दुई देशबीच सहमती गरेको हो ।

    बैठकमा जापानी रक्षामन्त्री शिनजिरो कोइजुमीले भने, ‘हामी यस कुरामा सहमत भएका छौँ कि आगामी वर्ष जापानको ‘सेल्फ–डिफेन्स फोर्स’ (आत्मरक्षा बल)ले पहिलोपटक भारतको परीक्षण केन्द्र (फायरिङ रेन्ज) प्रयोग गर्नेछ । रणनीतिक दृष्टिकोणबाट पनि यो एक महत्त्वपूर्ण कदम हो ।’

    योसँगै जापानले अब आगामी वर्ष सन् २०२७ मा भारतको परीक्षण केन्द्रमा आफ्ना लामो दूरीका क्षेप्यास्त्रहरूको परीक्षण गर्नेछ । विशेष गरी, जापानले भारतमा आफ्नो ‘टाइप–२५’, एन्टी–सिप (जहाज–विरोधी) क्षेप्यास्त्र (जसको मारक क्षमता करिब १,००० किलोमिटर छ) तथा साना आक्रमणकारी ड्रोनहरूको परीक्षण गर्नेछ ।

    जापानले लामो दूरीका क्षेप्यास्त्रहरूको परीक्षण र अभ्यासका लागि पर्याप्त ठाउँ खोज्दै आएको थियो ।

    करिब १,००० किलोमिटर मारक क्षमता भएको क्षेप्यास्त्रहरू प्रहार गर्नका लागि एउटा ठूलो र सुरक्षित समुद्री क्षेत्र आवश्यक पर्छ । भारतसँग यस्ता गतिविधिहरू सञ्चालन गर्न सकिने आवश्यक ‘फायरिङ रेन्ज’ (क्षेप्यास्त्र प्रहार गर्ने क्षेत्र) र परीक्षण सुविधाहरू उपलब्ध रहेको छ ।

    आगामी सन् २०२७ मा दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा हुनेछ । यसको पूर्वसन्ध्यामा क्षेप्यास्त्र परीक्षणसम्बन्धी भएको सम्झौता उनीहरूको द्विपक्षीय सुरक्षा साझेदारीका लागि महत्त्वपूर्ण छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar