भारत भ्रमणमा ‘ग्रेटर नक्सा’ र ‘चुच्चे नक्सा’को मुद्दा उठाउन प्रधानमन्त्री वालेन्द्र शाहलाई विकेश साहको सुझाव

  • कालिका खवर
  • शुक्रबार, मंसिर ४, २०८३
  • काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रधानमन्त्री वालेन्द्र शाहलाई आसन्न भारत भ्रमणका क्रममा ‘ग्रेटर नक्सा’ र नेपालको चुच्चे नक्सासम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्।

    प्रधानमन्त्री शाहको भारत भ्रमणलाई लक्षित गर्दै अध्यक्ष साहले सामाजिक सञ्जालमार्फत यस्तो सुझाव दिएका हुन्। उनले राष्ट्रियता र सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको भनाइ र व्यवहारमा एकरूपता हुनुपर्नेमा जोड दिएका छन्।

    साहले प्रधानमन्त्री शाहलाई सम्बोधन गर्दै भनेका छन्, “भारत भ्रमणमा तपाईंको ‘ग्रेटर नक्सा’ र ‘चुच्चे नक्सा’को विषय पनि प्रवेश होस्। भनाइ र गराइमा एकरूपता चाहन्छौँ।”

    उनको सुझावले प्रधानमन्त्रीको भारत भ्रमणलाई केवल औपचारिक कूटनीतिक भेटघाटमा सीमित नराखी नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सीमा विवादका विषयमा पनि केन्द्रित गर्नुपर्ने अपेक्षा व्यक्त गरेको छ।

    नेपाल र भारतबीच लामो समयदेखि सीमा तथा भूभागसम्बन्धी विभिन्न विषयमा मतभेद रहँदै आएका छन्। विशेषगरी लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालले जारी गरेको चुच्चे नक्सा र त्यसप्रति भारतको धारणा दुई देशबीचको कूटनीतिक सम्बन्धमा महत्त्वपूर्ण विषय रहँदै आएको छ।

    अध्यक्ष साहको सुझावमा ‘ग्रेटर नक्सा’को विषय पनि समेटिएको छ। उनले प्रधानमन्त्रीले विगतमा व्यक्त गरेका धारणा र सरकारको व्यवहारबीच समानता देखिनुपर्ने सन्देश दिन खोजेका छन्।

    प्रधानमन्त्रीको विदेश भ्रमणलाई राष्ट्रिय हितका विषय उठाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने आवाज उठिरहेका बेला साहको यो सुझाव सार्वजनिक भएको हो। उनको भनाइले सरकारको राष्ट्रियता सम्बन्धी प्रतिबद्धता व्यवहारमा पनि देखिनुपर्ने अपेक्षालाई उजागर गरेको छ।

    भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सीमा विवाद, नेपालको भौगोलिक अखण्डता र दुई देशबीचका अन्य द्विपक्षीय विषयलाई कसरी प्रस्तुत गर्छन् भन्ने विषय चासोका रूपमा हेरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar