बनेपामा दुईदिने ‘रेस वार्स २०२६’, विजेतालाई ५० हजार रुपैयाँ पुरस्कार

  • कालिका खवर
  • सोमवार, मंसिर ७, २०८३
  • काठमाडौं । नेपालको सबैभन्दा ठूलो रेसिङ कार्यक्रमका रूपमा चिनिने ‘रेस वार्स २०२६’ आगामी नोभेम्बर २७ र २८ (मंसिर ११ र १२ गते) बनेपास्थित चण्डेश्वरी ड्राइभिङ स्कुलमा आयोजना हुने भएको छ।

    मोटो वर्ल्ड नेपाल र एडभान्स्ड राइडिङ एकेडेमीको संयुक्त आयोजनामा हुने दुईदिने प्रतियोगितामा ५० भन्दा बढी रेसर सहभागी हुने अपेक्षा गरिएको छ। आयोजकका अनुसार प्रतियोगिता अवलोकन गर्न ३ हजारभन्दा बढी दर्शक उपस्थित हुने अनुमान छ।

    प्रतियोगिताको पहिलो दिन शुक्रबार राइडर दर्ता, कागजात प्रमाणीकरण, सुरक्षा जाँच तथा मोटरसाइकल परीक्षण गरिनेछ। त्यसपछि अभ्यास सत्र र ग्रिड पोजिसन निर्धारणका लागि क्वालिफाइङ राउन्ड सञ्चालन हुनेछ।

    दोस्रो दिन शनिबार दर्शकका लागि विभिन्न मनोरञ्जनात्मक गतिविधिसहित नकआउट हिट, सेमिफाइनल र फाइनल रेस आयोजना गरिनेछ। प्रतियोगिताको अन्त्यमा विजेतालाई पुरस्कार वितरण तथा आफ्टर पार्टी आयोजना गरिने आयोजकले जनाएको छ।

    प्रतियोगिता मिडिया, एक्सपर्ट, एमेचर र महिला गरी चार विधामा सञ्चालन हुनेछ। मिडिया विधामा दर्ता भएका सञ्चारमाध्यम तथा मिडिया क्षेत्रका प्रतिनिधिले सहभागिता जनाउन सक्नेछन्। यस विधाका सहभागीलाई क्रसफायर लेट्बे फ्लाइगन २२० सिटी मोटरसाइकल उपलब्ध गराइनेछ। विजेताले ट्रफी, भौचर तथा प्रायोजकका सामग्री प्राप्त गर्नेछन्।

    एक्सपर्ट विधामा यसअघि अनरोड रेसिङमा पोडियम स्थान हासिल गरिसकेका रेसरले प्रतिस्पर्धा गर्नेछन्। यस विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

    त्यस्तै, एमेचर विधामा पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यो विधामा सबैभन्दा ठूलो पुरस्कार राशि राखिएको आयोजकले जनाएको छ।

    महिला रेसरका लागि छुट्टै प्रतिस्पर्धा हुनेछ। यस विधामा क्युजे मोटर्सले क्युजे एसआरके १८० एस मोटरसाइकल उपलब्ध गराउनेछ। महिला विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

    आयोजकका अनुसार रेस वार्स २०२६ को मुख्य उद्देश्य रेसर र ब्रान्डबीच स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्नु, ब्रान्डलाई आफ्ना उत्पादनको क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नु तथा नयाँ रेसरलाई मोटरस्पोर्ट्स क्षेत्रमा प्रवेशका लागि मञ्च उपलब्ध गराउनु हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar