नवौँ नेपाल जग्गा तथा आवास प्रदर्शनीमा ७० हजारभन्दा बढी अवलोकनकर्ता

  • कालिका खवर
  • आइतवार, अशोज ४, २०८३
  • काठमाडौं । चार दिनदेखि काठमाडौंमा सञ्चालन भएको नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी आइतबार सम्पन्न भएको छ। आयोजकका अनुसार प्रदर्शनीको अन्तिम दिनसम्म ७० हजारभन्दा बढीले अवलोकन गरेका छन्।

    नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले आइतबार दिउँसोसम्म ७० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेको जानकारी दिए। अपेक्षा गरेभन्दा बढी अवलोकनकर्ता आएको बताउँदै उनले घरजग्गा खरिदमा समेत उत्साह देखिएको बताए।

    घिमिरेका अनुसार प्रदर्शनीअघि नै करिब सात महिनाअघि कार्यक्रम तय गरिएको थियो। भदौ १० गते आएको बाढीका कारण प्रदर्शनी गर्ने वा नगर्ने विषयमा अन्योल भए पनि बाढीलाई समेत मध्यनजर गर्दै शिक्षामूलक र जानकारीमूलक रूपमा प्रदर्शनी आयोजना गरिएको उनले बताए।

    उनका अनुसार शनिबारसम्म करिब ७० हजारले प्रदर्शनी अवलोकन गरेका थिए। अन्तिम दिन थप २५ देखि ३० हजारसम्म अवलोकनकर्ता आउने अपेक्षा गरिएको थियो। यसपटक विगतका प्रदर्शनीको तुलनामा घरजग्गाको बिक्री तथा बुकिङसमेत बढेको घिमिरेको भनाइ छ।

    विशेषगरी सस्तो तथा कम लागतका घर र जग्गाप्रति सर्वसाधारणको आकर्षण बढेको उनले बताए। उनका अनुसार १ करोड ४० लाख रुपैयाँसम्मका ५० भन्दा बढी घर बिक्री भएका छन् भने शनिबारसम्म करिब ७० वटा घर बिक्री भइसकेका थिए। काठमाडौं उपत्यकाबाहिर चितवन, दाङ र सुनसरीलगायत क्षेत्रमा रहेका जग्गाप्रति पनि खरिदकर्ताको आकर्षण देखिएको उनले बताए।

    घिमिरेले विगतमा प्रदर्शनीपछि फलोअपमार्फत घरजग्गा बिक्री हुने गरेकोमा यसपटक प्रदर्शनीस्थलमै बुकिङ तथा खरिद प्रक्रिया अघि बढाउनेको संख्या बढेको बताए।

    यसैगरी, हाउजिङ तथा घरजग्गा विकास क्षेत्रमा सक्रिय ग्रान्डी डेभलपर्सका अध्यक्ष दीपक कुँवरले सर्वसाधारणले खरिद गर्न सक्ने ‘एफोर्डेबल’ घरलाई प्राथमिकता दिइएको बताए। उनका अनुसार टोखा–झोर क्षेत्रमा साढे दुई आनामा निर्माण गरिएको दुईतले तीन बेडरुमको घर १ करोड ४० लाख रुपैयाँमा उपलब्ध गराइएको छ। उक्त घरमध्ये करिब ८० देखि ८५ प्रतिशत बुकिङ भइसकेको उनले जानकारी दिए।

    कुँवरका अनुसार ग्राहकका लागि चरणबद्ध भुक्तानीको व्यवस्था गरिएको छ भने लक्ष्मी बैंकमार्फत ५.४९ प्रतिशत ब्याजदरमा १०, १५ र २० वर्ष अवधिको कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

    घरजग्गा क्षेत्रमा रहेको जग्गा हदबन्दीसम्बन्धी समस्या समाधान हुनुपर्नेमा उनले जोड दिए। उनका अनुसार व्यवसायीको ठूलो परिमाणको सम्पत्ति रोक्का अवस्थामा रहेकाले घरजग्गा कारोबार प्रभावित भएको छ। हदबन्दीसम्बन्धी समस्या समाधान भए बजारमा ठूलो रकम चलायमान हुने र त्यसको सकारात्मक प्रभाव निर्माणसँग सम्बन्धित रड, सिमेन्टलगायत उद्योगमा समेत पर्ने कुँवरको भनाइ छ।

    त्यस्तै, गृहलक्ष्मी रियल्टी लिमिटेडका जनरल म्यानेजर निरज खड्काले चार दिनको प्रदर्शनीमा आफ्नो स्टलमा दैनिक करिब २०० देखि २५० जनासम्मले अवलोकन गरेको र दैनिक १२ देखि १५ वटासम्म बुकिङ भएको बताए।

    खड्काका अनुसार मनमैजु रेसिडेन्सीमा २५ लाख रुपैयाँसम्म छुटको व्यवस्था गरिएको थियो। त्यसैगरी बनेपाको नागीडाँडा ग्रीन हिल्समा चार आनाभन्दा बढी जग्गासहितका घर ३ करोड रुपैयाँमा उपलब्ध गराइएको उनले जानकारी दिए।

    चार दिनसम्म चलेको प्रदर्शनीमा घर तथा जग्गाको खरिद–बिक्रीसँगै सुरक्षित तथा व्यवस्थित आवास निर्माणका विषयमा विज्ञ तथा इन्जिनियरमार्फत जानकारी र प्रशिक्षणसमेत दिइएको आयोजकले जनाएको छ।

    घरजग्गा व्यवसायीहरूले २०७६ सालदेखि लागू भएको जग्गा हदबन्दीसम्बन्धी व्यवस्थाले व्यवसाय प्रभावित भएको बताउँदै आएका छन्। उक्त व्यवस्थाअनुसार कम्पनीले ३० रोपनीभन्दा बढी जग्गा राख्न नपाउने व्यवस्था छ। यसका कारण २०७६ अघि जग्गा खरिद गरी अपार्टमेन्ट तथा आवासीय परियोजना निर्माण गरेका कतिपय कम्पनीले निर्माण सम्पन्न भएका घर तथा आवास बिक्री गर्न समस्या भएको व्यवसायीहरूको गुनासो छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar