प्रभु बैंकद्वारा पहेंलो गुम्बामा ६ थान बंक बेड हस्तान्तरण

  • कालिका खवर
  • शुक्रबार, अशोज २, २०८३
  • काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंस्थित पहेंलो गुम्बालाई ६ थान दुई तल्ले खाट (बंक बेड) हस्तान्तरण गरेको छ।

    देशका विभिन्न स्थानमा आएको प्राकृतिक विपद् तथा बाढीका कारण पहेंलो गुम्बामा आश्रय लिइरहेका प्रभावित परिवारहरूको तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त सहयोग उपलब्ध गराएको हो।

    प्रभावित परिवारका लागि दुई तल्ले खाट आवश्यक रहेको पहिचान भएपछि बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत ६ थान बंक बेड उपलब्ध गराएको जनाएको छ। यस सहयोगबाट राहत तथा आश्रयस्थलमा बसोबास गरिरहेका प्रभावित परिवारलाई थप सहजता पुग्ने बैंकको विश्वास छ।

    यसअघि पनि प्रभु बैंकले विनाशकारी बाढीका कारण प्रभावित तथा घरबारविहीन भएका परिवारलाई राहत सहयोग गर्ने उद्देश्यले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको थियो। त्यसैगरी बैंकका सञ्चालक तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ समेत सोही कोषमा प्रदान गरिएको बैंकले जनाएको छ।

    बाढी प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले थप सहयोगस्वरूप १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको थियो।

    त्यस्तै, विपद्का कारण घाइते भएकाहरूलाई सहयोग पुग्ने उद्देश्यले प्रभु बैंकले सीएसआरअन्तर्गत देशका सातै प्रदेशमा देशव्यापी रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेको थियो।

    प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति बैंकले श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन नागरिकहरूको शीघ्र उद्धार तथा घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेको छ। साथै, विपद्बाट प्रभावित सम्पूर्ण समुदायप्रति बैंकले गहिरो समवेदना व्यक्त गरेको छ।

    प्रभु बैंकले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar