एनएफआरएस १७ कार्यान्वयनले बीमा क्षेत्रमा बढायो लागत र अन्योल, लाभांश क्षमतामा समेत असर पर्ने चिन्ता

  • कालिका खवर
  • शुक्रबार, भदौ ५, २०८३
  • काठमाडौं । अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन प्रणालीको नयाँ मापदण्ड एनएफआरएस १७ को कार्यान्वयनलाई लिएर नेपालको बीमा क्षेत्रमा लागत, जनशक्ति, प्राविधिक क्षमता र कार्यान्वयन प्रक्रियासम्बन्धी समस्या देखिन थालेका छन्। बीमा कम्पनीहरूले नयाँ प्रणाली हतारमा लागू गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

    एनएफआरएस १७ अनुसार वित्तीय विवरण तयार पार्नुपर्ने भएपछि नेपाली बीमा कम्पनीहरू अहिले लेखापरीक्षणका लागि परामर्शदाता छनोटदेखि आवश्यक प्राविधिक तयारीमा जुटेका छन्। कम्पनीहरूको भनाइमा नयाँ प्रणाली कार्यान्वयनका कारण प्रशासनिक तथा प्राविधिक लागत उल्लेख्य रूपमा बढेको छ।

    नेपाल बीमा प्राधिकरणले एनएफआरएस १७ अनुसार लेखापरीक्षण गराएपछि जीवन बीमा कम्पनीको वित्तीय विवरण एक्चुरी भ्यालुएटरबाट समेत प्रमाणीकरण गराउनुपर्ने व्यवस्था गरेको छ। यसले कम्पनीहरूलाई लेखापरीक्षकसँगै एक्चुरीलाई समेत अतिरिक्त शुल्क तिर्नुपर्ने अवस्था सिर्जना गरेको बीमा क्षेत्रका पदाधिकारीहरूको भनाइ छ।

    एक्चुरी भ्यालुएटरहरूले एनएफआरएस १७ का लागि विशेष सफ्टवेयर, दक्ष जनशक्ति र नयाँ प्रक्रियाको ज्ञान आवश्यक पर्ने भन्दै लेखापरीक्षणकै हाराहारीमा शुल्क माग गर्ने गरेका छन्। लागत घटाउने विषयमा लेखापरीक्षक र एक्चुरीसँग छलफल भए पनि अहिलेसम्म ठोस समाधान निस्कन नसकेको कम्पनीहरूले बताएका छन्।

    भारतमै पूर्ण रूपमा लागू नभएको व्यवस्थाले बढायो अन्योल

    बीमा क्षेत्रका पदाधिकारीहरूले छिमेकी भारतमा समेत एनएफआरएस १७ पूर्ण रूपमा कार्यान्वयनमा नआइसकेको अवस्थामा नेपालमा यसको कार्यान्वयन गरिएको विषयमा प्रश्न उठाएका छन्। नेपाली जीवन बीमा कम्पनीहरूले ठूलो संख्यामा भारतीय एक्चुरी भ्यालुएटर नियुक्त गरेका छन्।

    कम्पनीहरूसँग छलफलका क्रममा भारतीय एक्चुरीहरूले भारतमै एनएफआरएस १७ लागू नभएको अवस्थामा नेपाली कम्पनीको अभ्यासबाट आफूहरूले समेत सिक्नुपर्ने अवस्था रहेको बताउने गरेको बीमा क्षेत्रका अधिकारीहरूको भनाइ छ।

    अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मानक IFRS 17 सन् २०२३ देखि प्रभावकारी रूपमा लागू भएको हो। विभिन्न देशले आ–आफ्नै कानुनी तथा लेखा प्रणालीअनुसार यसको कार्यान्वयन गरेका छन्। भारत, अमेरिका, चीन, जापान र इन्डोनेसियाजस्ता ठूला अर्थतन्त्रले भने आफ्नै स्थानीय लेखा तथा वित्तीय प्रतिवेदन प्रणाली प्रयोग गर्दै आएका छन्।

    यसकारण ठूला अर्थतन्त्रहरूले आफ्नै प्रणाली अपनाइरहेको अवस्थामा नेपालमा भने एनएफआरएस १७ लाई कति व्यावहारिक रूपमा लागू गर्न सकिन्छ भन्ने विषयमा बीमा क्षेत्रभित्र बहस भइरहेको छ।

    नेपाललाई ‘प्रयोगशाला’ बनाइएको गुनासो

    बीमा कम्पनीका पदाधिकारीहरूले अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूसँग समेत नेपालमा एनएफआरएस १७ कार्यान्वयनको औचित्यबारे प्रश्न उठाएका छन्। एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतका अनुसार विश्व बैंक समूहका प्रतिनिधिहरूसँग भएको छलफलमा भारत ठूलो अर्थतन्त्र भएकाले त्यहाँ यस्तो व्यवस्था लागू गर्न कठिन हुने, तर साना अर्थतन्त्रमा परीक्षण गर्न सहज हुने आशय व्यक्त गरिएको थियो।

    यसै आधारमा नेपाललाई नयाँ वित्तीय प्रणाली परीक्षण गर्ने ‘प्रयोगशाला’ बनाइएको जस्तो देखिएको भन्दै बीमा क्षेत्रका पदाधिकारीहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले नियामक निकायको तयारी र कार्यान्वयन क्षमतामाथि समेत प्रश्न उठाएका छन्।

    नयाँ लेखामानमा पर्याप्त दक्षता हासिल गरेका जनशक्ति तथा चार्टर्ड एकाउन्टेन्टको संख्या सीमित रहेको भन्दै कम्पनीहरूले एनएफआरएस १७ अनुसार वित्तीय विवरण तयार पार्नु चुनौतीपूर्ण बनेको बताएका छन्।

    लाभांश क्षमतामा समेत असर पर्ने चिन्ता

    एनएफआरएस १७ कार्यान्वयनले कम्पनीहरूको प्रशासनिक तथा प्राविधिक खर्च बढाउनुका साथै नाफा र लाभांश वितरण क्षमतामा समेत असर पार्न सक्ने बीमा क्षेत्रका जानकारहरूको भनाइ छ।

    नयाँ प्रणालीअनुसार वित्तीय विवरण तयार पार्न लाग्ने समय र अतिरिक्त प्रमाणीकरण प्रक्रियाका कारण बीमा कम्पनीहरूको वार्षिक साधारणसभा समयमा सम्पन्न गर्न समेत कठिनाइ आउन सक्ने देखिएको छ। विशेषगरी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्नुपर्ने कानुनी दबाबमा रहेका कम्पनीहरूका लागि लेखापरीक्षण तथा एक्चुरी प्रमाणीकरणको प्रक्रिया चुनौतीपूर्ण बन्न सक्नेछ।

    के हो एनएफआरएस १७?

    नेपाल वित्तीय प्रतिवेदन मानक (एनएफआरएस) १७ अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मानक (आईएफआरएस) १७ को नेपाली सन्दर्भअनुकूल स्वरूप हो। यसले बीमा सम्झौतासँग सम्बन्धित वित्तीय विवरण कसरी तयार गर्ने भन्ने मापदण्ड निर्धारण गर्छ।

    नेपालमा विभिन्न क्षेत्रका लागि फरक–फरक वित्तीय प्रतिवेदन मापदण्ड लागू छन्। एनएफआरएस ९ ले ऋण, लगानी तथा डेरिभेटिभ्सलगायत वित्तीय साधनको लेखांकनसम्बन्धी व्यवस्था गर्छ भने एनएफआरएस १५ ले ग्राहकसँगको सम्झौताबाट प्राप्त हुने आम्दानीको लेखांकनलाई समेट्छ।

    त्यस्तै, एनएफआरएस १६ ले लिज अर्थात् भाडासम्बन्धी कारोबारको वित्तीय प्रतिवेदनलाई समेट्छ। एनएफआरएस १७ भने विशेष रूपमा जीवन बीमा, निर्जीवन बीमा तथा पुनर्बीमा व्यवसाय गर्ने कम्पनीका बीमा सम्झौताको वित्तीय विवरण तयार पार्न प्रयोग गरिन्छ।

    एनएफआरएस १७ ले जोखिममा आधारित मूल्यांकन तथा वर्तमान बजार अवस्थाअनुसार सम्पत्ति र दायित्वको मूल्यांकनमा जोड दिन्छ। यसले बीमा व्यवसायको जोखिम, दायित्व र नाफालाई थप पारदर्शी रूपमा प्रस्तुत गर्ने उद्देश्य राखे पनि नेपाली बीमा क्षेत्रमा यसको पूर्ण प्रभाव र व्यावहारिक परिणाम देखिन अझै समय लाग्ने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar