जनकपुरमा प्रोटोनको नयाँ सोरुम सञ्चालनमा, इ.मास ५ सार्वजनिक

  • कालिका खवर
  • शुक्रबार, भदौ ५, २०८३
  • काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले जनकपुरमा नयाँ आधिकारिक सोरुम सञ्चालनमा ल्याउँदै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक गरेको छ।

    नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको इ.मास ५ ले सहरी जीवनशैली तथा दैनिक यात्रालाई सहज, स्मार्ट र आधुनिक बनाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ।

    हालै मलेसियामा आयोजित ‘एलियान्ज डीएसएफ भेइकल अफ द इयर अवार्ड्स २०२६’ मा इ.मास ५ ले ‘इलेक्ट्रिक कम्प्याक्ट भेइकल अफ द इयर २०२६’ को उपाधि जितेको कम्पनीले जनाएको छ। अत्याधुनिक प्रविधि, स्मार्ट फिचर र इन्टेलिजेन्ट डिजाइनका कारण यो मोडललाई नेपाली बजारमा पनि आकर्षक विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको छ।

    इ.मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो उपलब्ध छन्। त्यस्तै, ७० लिटरको फ्रन्ट फ्रङ्क, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस तथा ३२ वटा स्टोरेज कम्पार्टमेन्टले दैनिक प्रयोगमा थप व्यावहारिकता प्रदान गर्ने कम्पनीको दाबी छ।

    जनकपुरमा उत्साहजनक सहभागिता

    सोरुम उद्घाटन तथा इ.मास ५ सार्वजनिककरण समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, व्यवसायिक साझेदार, सञ्चारकर्मी, अटो पत्रकार तथा अन्य विशिष्ट अतिथिको उपस्थिति रहेको थियो।

    कार्यक्रममा देखिएको उत्साहजनक सहभागिताले जनकपुर तथा आसपासका क्षेत्रमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षण र दिगो यातायातप्रतिको चासोलाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले प्रोटोनसँगको साझेदारीलाई निरन्तरता दिँदै जनकपुरका ग्राहकहरूमाझ इ.मास ५ सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताए।

    उनले आधुनिक प्रविधि, सुरक्षा, व्यावहारिक उपयोगिता र आकर्षक मूल्यको संयोजनका कारण इ.मास ५ यस क्षेत्रका ग्राहकको रोजाइमा पर्ने विश्वास व्यक्त गरे।

    उनका अनुसार भक्तपुरबाट सुरु भएको इ.मास ५ को क्षेत्रीय सार्वजनिककरण अभियान धनगढी हुँदै जनकपुर पुगेको हो। अब वीरगञ्जमा हुने कार्यक्रमसँगै क्षेत्रीय सार्वजनिककरण अभियानको अर्को चरण पूरा हुनेछ।

    जगदम्बा मोटर्सले नेपालभर रहेका ११ वटा प्रोटोन सोरुममार्फत इ.मास ५ लाई ग्राहकसम्म पुर्‍याउने जनाएको छ।

    ३२.९९ लाखदेखि इ.मास ५

    प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। जनकपुरमा आयोजित क्षेत्रीय सार्वजनिककरणको अवसरमा कम्पनीले प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तथा प्रिमियम भेरियन्टको विशेष सुरुवाती मूल्य ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ।

    इ.मास ५ मा रुचि राख्ने ग्राहकले जनकपुरस्थित नयाँ आधिकारिक प्रोटोन सोरुममा पुगेर गाडीको प्रत्यक्ष अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्। सोरुममा ग्राहकले गाडीका प्रविधि, स्मार्ट फिचर, डिजाइन र ड्राइभिङ अनुभवबारे थप जानकारी लिन सक्नेछन्।

    नेपालभर प्रोटोनको उपस्थितिलाई विस्तार गर्दै क्षेत्रीय बजारमा विद्युतीय सवारीको पहुँच बढाउने जगदम्बा मोटर्सको अभियानअन्तर्गत जनकपुरको नयाँ सोरुम सञ्चालन र इ.मास ५ को सार्वजनिककरणलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar