प्राविधिक त्रुटिपछि एक्सपेङ्ग एक्स९ का ३३ हजारभन्दा बढी एमपीभी फिर्ता, एयर सस्पेन्सनमा समस्या

  • कालिका खवर
  • मङ्लबार, साउन १२, २०८३
  • काठमाडौँ । चिनियाँ विद्युतीय सवारी निर्माता एक्सपेङ्गले आफ्नो प्रिमियम एमपीभी एक्स९ (X9) मा देखिएको प्राविधिक त्रुटिका कारण ३३ हजारभन्दा बढी सवारीसाधन फिर्ता (रिकल) गर्ने घोषणा गरेको छ। सुरुमा सामान्य तापक्रम सुरक्षा प्रणालीको प्रभाव भन्दै आएको कम्पनीले विस्तृत प्राविधिक परीक्षणपछि हार्डवेयरमै समस्या रहेको पुष्टि गरेपछि रिकल अभियान सुरु गरेको हो।

    चिनियाँ बजार नियमन निकायका अनुसार सन् २०२३ को अगस्टदेखि २०२५ को अगस्ट बीच उत्पादन भएका ३३ हजार ४७३ वटा एक्सपेङ्ग एक्स९ यस रिकल अभियानमा समावेश छन्। कम्पनीले आगामी अगस्ट अन्त्यदेखि प्रभावित गाडीहरूको प्राविधिक परीक्षण तथा आवश्यक पार्ट्स निःशुल्क प्रतिस्थापन गर्ने जनाएको छ।

    एयर सस्पेन्सनमा समस्या

    कम्पनीका अनुसार उत्पादन प्रक्रियामा आएको सामान्य भिन्नताका कारण अगाडिको एयर स्प्रिङको हावा थाम्ने क्षमता कमजोर भएको पाइएको छ। विशेषगरी अत्यधिक गर्मी र उच्च तापक्रममा लामो समय सञ्चालन गर्दा एयर स्प्रिङबाट बिस्तारै हावा चुहिने र त्यसले गाडीको एकापट्टि झुक्ने वा च्यासिस तल बस्ने समस्या देखिएको हो।

    यसका कारण चालकले ड्यासबोर्डमा चेतावनी संकेत देख्न सक्ने र गाडीको सन्तुलन तथा नियन्त्रण प्रणालीमा असर पर्न सक्ने भएकाले यसलाई सुरक्षा जोखिमका रूपमा लिइएको कम्पनीले जनाएको छ।

    निःशुल्क पार्ट्स प्रतिस्थापन

    समस्याको स्थायी समाधानका लागि कम्पनीले प्रभावित सबै गाडीमा सुधारिएको स्प्रिङ स्लाइड पिलर एसेम्ब्ली निःशुल्क जडान गर्ने व्यवस्था मिलाएको छ। आधिकारिक रिकल घोषणा हुनुअघि नै आफ्नै खर्चमा मर्मत गराइसकेका ग्राहकलाई भने पुनः मर्मत गराउन आवश्यक नपर्ने कम्पनीले स्पष्ट पारेको छ।

    लोकप्रिय मोडलमा धक्का

    सात सिटे प्रिमियम एमपीभीका रूपमा बजारमा राम्रो लोकप्रियता कमाएको एक्सपेङ्ग एक्स९ पछिल्लो प्राविधिक समस्याका कारण दबाबमा परेको छ। यसअघि पनि कम्पनीले स्टेरिङ मोटरसँग सम्बन्धित समस्याका कारण आफ्ना अन्य केही मोडलहरू रिकल गर्नुपरेको थियो। नयाँ रिकलले कम्पनीको गुणस्तर नियन्त्रण र विश्वसनीयतामाथि पुनः प्रश्न उठाएको विश्लेषण गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar