नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ तान्दै, ९० दिनका लागि निक्षेप सङ्कलन

  • कालिका खवर
  • शुक्रबार, साउन १, २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले ५० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ।

    राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै ९० दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम सङ्कलन गर्न बोलकबोल आह्वान गरेको जनाएको हो। बोलकबोल प्रक्रिया आज दिउँसो ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत सञ्चालन हुनेछ।

    सूचनाअनुसार निक्षेप सङ्कलन उपकरण आजै निष्कासन गरिनेछ। यसअन्तर्गत सङ्कलित रकमको साँवा तथा ब्याज आगामी असोज २९ गते भुक्तानी गरिनेछ। यस उपकरणको ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।

    राष्ट्र बैंकका अनुसार बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँका गुणक (दरले भाग गर्दा नि:शेष भाग जाने) का आधारमा कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिनेछ।

    यस निक्षेप सङ्कलन कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

    राष्ट्र बैंकले बजारमा अधिक रहेको तरलता नियन्त्रण गर्दै वित्तीय प्रणालीमा सन्तुलन कायम राख्न समय–समयमा यस्ता निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar