टीभीएसको दोस्रो ईभी स्कुटर ‘अर्बिटर’ नेपाल आउँदै, परीक्षण सुरु

  • कालिका खवर
  • मङ्लबार, असार ३०, २०८३
  • काठमाडौँ । नेपालको विद्युतीय सवारी (ईभी) बजारमा प्रतिस्पर्धा थप चर्किने भएको छ। टीभीएसको दोस्रो इलेक्ट्रिक स्कुटर ‘अर्बिटर’ नेपाली बजारमा ल्याउने तयारी तीव्र पारिएको छ। नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ स्कुटरलाई नेपाली सडकमा उतार्न आन्तरिक तयारीसँगै विभिन्न स्थानमा परीक्षण सुरु गरेको स्रोतले जनाएको छ।

    हाल कम्पनीले स्कुटर नेपाली सडक, भौगोलिक अवस्था तथा प्रयोगकर्ताको आवश्यकताअनुसार उपयुक्त हुने–नहुने विषयमा परीक्षण गरिरहेको छ। यद्यपि, यसको औपचारिक सार्वजनिक मिति भने कम्पनीले घोषणा गरेको छैन। अटोमोबाइल क्षेत्रका जानकारहरूका अनुसार आगामी साउनमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो मा टीभीएस अर्बिटर पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुने सम्भावना रहेको छ।

    भारतीय बजारमा यो स्कुटर १.८ किलोवाट आवर र ३.१ किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। १.८ किलोवाट आवर ब्याट्रीले एक पटकको पूर्ण चार्जमा करिब ८६ किलोमिटर तथा ३.१ किलोवाट आवर ब्याट्रीले १५८ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। ब्याट्रीलाई क्षमताअनुसार पूर्ण चार्ज हुन २ घण्टा २० मिनेटदेखि ४ घण्टा १० मिनेटसम्म समय लाग्ने बताइएको छ।

    स्कुटरमा २.५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले अधिकतम ६८ किलोमिटर प्रतिघण्टा गति प्रदान गर्छ। १६५ एमएम ग्राउन्ड क्लियरेन्स भएकाले नेपाली सडकका उकालो–ओरालो तथा खाल्डाखुल्डी सडकमा पनि सहज रूपमा सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ।

    फिचरका हिसाबले टीभीएस अर्बिटर आधुनिक प्रविधिले भरिपूर्ण रहेको छ। यसमा टीभीएस कनेक्ट एपसँग जोडिने रंगीन डिजिटल डिस्प्ले, एलईडी लाइटिङ सिस्टम, टर्न–बाई–टर्न नेभिगेसन, एन्टी–थेफ्ट प्रणाली, दुर्घटना सूचना प्रणाली (क्र्यास अलर्ट) तथा हिल–होल्ड असिस्ट जस्ता सुविधा समावेश छन्।

    यसबाहेक ३४ लिटर क्षमताको अन्डर–सिट स्टोरेज, फ्ल्याट सिट तथा मोबाइल चार्ज गर्न मिल्ने यूएसबी पोर्ट जस्ता सुविधाले दैनिक प्रयोगलाई अझ सहज बनाउने विश्वास गरिएको छ।

    नेपाली बजारमा टीभीएसको आईक्युब (iQube) इलेक्ट्रिक स्कुटरले राम्रो बजार हिस्सा बनाइसकेको अवस्थामा अर्बिटरको आगमनले कम्पनीको ईभी पोर्टफोलियो थप विस्तार गर्ने अपेक्षा गरिएको छ। साथै, वातावरणमैत्री र प्रविधियुक्त सवारी खोज्ने नेपाली उपभोक्ताका लागि नयाँ विकल्प थपिने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar