४२औँ वार्षिकोत्सव मनाउँदै नबिल बैंकको नयाँ यात्रा, ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणासहित एआई–केन्द्रित सेवामा जोड

  • कालिका खवर
  • आइतवार, असार २८, २०८३
  • काठमाडौं। नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंकले स्थापना भएको ४२ वर्ष पूरा गर्दै ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणासहित नयाँ चरणको यात्रा सुरु गरेको छ। वार्षिकोत्सवका अवसरमा बैंकले परम्परागत बैंकिङ सेवाभन्दा माथि उठेर प्रविधिमैत्री, समावेशी तथा भविष्य–उन्मुख वित्तीय सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

    वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले ‘विश्वास हाम्रो सम्पत्ति, नवप्रवर्तन हाम्रो डीएनए’ रहेको उल्लेख गर्दै नबिलले विगत चार दशकदेखि परिवर्तनको प्रतीक्षा नगरी बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताए। उनले नबिलले नेपालको पहिलो निजी वाणिज्य बैंकका रूपमा आधुनिक बैंकिङको आधार निर्माण गर्नुका साथै ‘एनबैंक’ एपमार्फत डिजिटल बैंकिङलाई नयाँ उचाइमा पुर्‍याएको बताए।

    उनका अनुसार नबिल अहिले वाणिज्य बैंकिङ, लगानी बैंकिङ, स्टक ब्रोकिङ, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट तथा डिजिटल बैंकिङसहित एउटै छानामुनि पूर्ण वित्तीय इकोसिस्टम उपलब्ध गराउने नेपालको एकमात्र वित्तीय समूह बनेको छ। आगामी दिनमा बैंकिङ सेवालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केन्द्रित बनाइने उल्लेख गर्दै उनले कर्जा स्वीकृति, जोखिम व्यवस्थापन, ग्राहक अनुभव, वित्तीय समावेशीकरण तथा साइबर सुरक्षामा एआईको प्रयोगलाई प्राथमिकता दिइने जानकारी दिए।

    बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले सन् १९८४ मा सुरु भएको नबिलको यात्रा आज लाखौं ग्राहकको विश्वास र हजारौं कर्मचारीको समर्पणका कारण यो उचाइमा पुगेको बताए। उनले ग्राहक र राष्ट्रका लागि दीर्घकालीन मूल्य सिर्जना गर्दै नबिललाई ‘नेपालको सबैभन्दा विश्वासिलो, भरपर्दो र भविष्यका लागि तयार बैंक’ बनाउने लक्ष्य रहेको बताए।

    नबिल बैंकले उत्पादनशील क्षेत्रमा लगानीलाई प्राथमिकता दिएको जनाएको छ। बैंकका अनुसार कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड रुपैयाँ, लघु, घरेलु, साना तथा मझौला उद्योग (एमएसएमई) क्षेत्रमा ४५ अर्ब ९२ करोड रुपैयाँ र पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरिएको छ।
    बैंकको वित्तीय सूचकाङ्क पनि उल्लेखनीय रूपमा विस्तार भएको छ। आर्थिक वर्ष २०४१/४२ मा २ करोड ८० लाख रुपैयाँ रहेको नेटवर्थ चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ७० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। यही अवधिमा खुद नाफा १० लाख रुपैयाँबाट ६ अर्ब ७६ करोड रुपैयाँ, निक्षेप १४ करोड ६० लाख रुपैयाँबाट ५ खर्ब ८८ अर्ब ८५ करोड रुपैयाँ, कर्जा प्रवाह १३ करोड ३० लाख रुपैयाँबाट ४ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ तथा कुल सम्पत्ति २६ करोड ९० लाख रुपैयाँबाट ७ खर्ब १८ अर्ब ४२ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।

    हाल नबिल बैंकको सेवा सञ्जाल देशभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर र २ हजार ४६९ कर्मचारीसम्म विस्तार भएको छ। बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।

    ४२औँ वार्षिकोत्सवको अवसरमा बैंकले ४२ दिनसम्म सञ्चालन हुने विभिन्न ग्राहक–केन्द्रित योजना पनि सार्वजनिक गरेको छ। हेटौंडा र वीरगञ्जमा सडक विस्तारबाट प्रभावित नागरिकका लागि आधारदरमा ०.५ प्रतिशत मात्र प्रिमियम ब्याजदरमा पुनःनिर्माण घर कर्जा उपलब्ध गराइनेछ। साथै, लकर सेक्युरिटी डिपोजिटमा ४२ प्रतिशत छुट, इलेक्ट्रोनिक पेमेन्ट गेटवे (ईपीजी) जडान शुल्कमा ५० प्रतिशत छुट, क्रेडिट कार्ड आवेदन तथा वार्षिक सदस्यता शुल्कमा विशेष छुट र वार्षिकोत्सवकै दिन डेबिट कार्ड लिने ग्राहकलाई चार वर्षसम्म निःशुल्क प्रयोगको सुविधा प्रदान गरिने बैंकले जनाएको छ।

    नबिल बैंकले आगामी दिनमा डिजिटल बैंकिङ, दिगो वित्तीय सेवा तथा नवीन प्रविधिको प्रयोगमार्फत ग्राहक अनुभवलाई अझ प्रभावकारी बनाउँदै देशको आर्थिक समृद्धिमा योगदान दिने प्रतिबद्धता दोहोर्‍याएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar