महालक्ष्मी विकास बैंकद्वारा यूनियनपे वालेटमार्फत क्यूआर भुक्तानी सेवा सुरु

  • कालिका खवर
  • सोमवार, बैशाख ७, २०८३
  • काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले फोनपे क्यूआर मर्चेन्ट नेटवर्कमार्फत यूनियनपे वालेट प्रयोगकर्ताबाट नेपालभित्रै क्यूआर कोडमार्फत भुक्तानी स्वीकार गर्ने नयाँ सुविधा सुरु गरेको छ।
    बैंकका अनुसार यो सेवा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा फोनपे प्लेटफर्ममार्फत लागू गरिएको हो। यस सुविधाको सुरुवातसँगै यूनियनपे डिजिटल वालेट प्रयोगकर्ताले नेपालभर रहेका महालक्ष्मी विकास बैंकका क्यूआर मर्चेन्टहरूमा सजिलै क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।

    विशेषगरी चीनलगायत विभिन्न देशबाट नेपाल भ्रमणमा आउने पर्यटकहरूका लागि यो सेवा उपयोगी हुने विश्वास गरिएको छ। यसले यात्राका क्रममा नगद बोक्नुपर्ने बाध्यतालाई कम गर्नुका साथै डिजिटल भुक्तानीलाई थप सहज बनाउनेछ। सन् २००२ मा स्थापना भएको यूनियनपे विश्वका अग्रणी भुक्तानी सेवा प्रदायकमध्ये एक हो, जसका ९.६ अर्बभन्दा बढी कार्ड जारी भइसकेका छन् र १८० भन्दा बढी देश तथा क्षेत्रमा यसको स्वीकृति रहेको छ।
    बैंकले यस सेवाबाट नेपालमा विद्यमान क्यूआर भुक्तानी पूर्वाधार अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको छ। साथै, डिजिटल नवप्रवर्द्धनलाई सुरक्षित, प्रभावकारी र समावेशी बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

    यसैबीच, बैंकले वर्ष २०८३ लाई ‘डिजिटल प्रवर्द्धन वर्ष’का रूपमा मनाउने योजना अन्तर्गत “महालक्ष्मी स्मार्ट साथी” मोबाइल एपमार्फत विशेष योजना सार्वजनिक गरेको छ। यस योजना अनुसार वैशाख महिनाको पहिलो हप्ताभित्र कम्तीमा एक सफल कारोबार गर्ने सक्रिय मोबाइल बैंकिङ्ग प्रयोगकर्तामध्ये गोलाप्रथामार्फत तीन जनालाई आकर्षक भ्रमण प्याकेज प्रदान गरिनेछ।

    “सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसाथ गर्दै आएको महालक्ष्मी विकास बैंकका देशभर १०३ शाखा कार्यालय सञ्चालनमा रहेका छन् भने करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar