बसरुद्दिन अन्सारीको पार्टी प्रवेशले १०० मत पनि नबढेको कांग्रेसभित्रै चर्चा

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन २६, २०८२
  • वीरगंज  — निर्वाचनको केही दिन मात्रै बाँकी रहँदा नेपाली कांग्रेसमा प्रवेश गरेका बसरुद्दिन अन्सारीले पर्सा क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार अनिल रुङ्गटालाई १०० मत पनि थप्न नसकेको चर्चा अहिले कांग्रेसभित्रै हुन थालेको छ।

    सत्ताको वरिपरि घुमिरहने छवि बनाएका अन्सारीले निर्वाचनको मुखमै कांग्रेसमा प्रवेश गर्दै ‘घरफिर्ती’ भएको दाबी गरेका थिए। उनले आफ्नो प्रवेशसँगै पर्सा–१ मा कांग्रेसको जित सुनिश्चित भएको दाबीसमेत गरेका थिए। तर निर्वाचन परिणामले उनको दाबीलाई गलत सावित गरिदिएको कांग्रेस नेताहरूको भनाइ छ।

    निर्वाचन परिणाम अनुसार कांग्रेस उम्मेदवार रुङ्गटा तेस्रो स्थानमा सीमित भए। देशभरझैं पर्सा–१ मा पनि रास्वपाले जित हासिल गर्दा नेकपा एमालेका उम्मेदवार प्रदीप यादव दोस्रो स्थानमा रहेर आफ्नो राजनीतिक साख जोगाउन सफल भए।

    राजनीतिक विश्लेषकहरूका अनुसार रुङ्गटाको कमजोर मत परिणामका पछाडि बसरुद्दिन अन्सारीजस्ता सहयोगी तथा कांग्रेसका केही चुनावी कमाण्डरहरूको रणनीतिक कमजोरी पनि जिम्मेवार रहेको देखिएको छ।

    कांग्रेस वृत्तका अनुसार उम्मेदवार रुङ्गटा स्वयंले पनि निकट साथीहरूसँगको अनौपचारिक कुराकानीमा अन्सारीको कांग्रेस प्रवेशले १०० मत पनि ‘प्लस’ नभएको गुनासो गर्ने गरेका छन्।

    यसअघि नेकपा एमालेमा रहँदा आफ्नो जनमत घटेको मूल्यांकन भएपछि अन्सारीले पार्टीभित्र साख गुमाएका थिए। त्यसपछि भविष्यमा नेपाली राजनीतिमा उदाउँदो ताराका रूपमा हेरिएका कांग्रेस नेता गगन थापाको विश्वासमा रुङ्गटा क्याम्पमा प्रवेश गरेको बताइन्छ। तर उनको आगमनले पनि रुङ्गटाको चुनावी परिणाममा कुनै सकारात्मक प्रभाव पार्न सकेन।

    निर्वाचनअघि अधिकांश एक्जिट पोल र राजनीतिक विश्लेषणहरूले पर्सा–१ मा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने आकलन गरेका थिए। तर अन्तिम परिणाम आउँदा प्रतिस्पर्धा रास्वपा र एमालेबीच सीमित भयो भने कांग्रेस उम्मेदवार रुङ्गटा खेलमै बाहिरिएजस्तै देखिए।

    मतगणनाको परिणाम सार्वजनिक भएपछि वडा–वडाबाट ठूलो मत दिलाउने प्रतिबद्धता गरेका नेताहरू अहिले रुङ्गटासँग भेटघाट गर्नसमेत हिच्किचाउन थालेको चर्चा कांग्रेस वृत्तमा भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar