मुद्दा मिलाइदिने बहानामा ठगी गर्ने बालाजुबाट पक्राउ

  • कालिका खवर
  • शनिबार, बैशाख ५, २०८३
  • काठमाडौँ । बैंकिङ कसुरको मुद्दा मिलाइदिने भन्दै रकम ठगी गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१६ वनस्थली बस्ने ५२ वर्षीय ‘दीपक’ भन्ने विश्वराम अधिकारी रहेका छन् ।

    प्रहरीका अनुसार अधिकारीले नेपाल सरकार वादी र ध्रुव विक्रम मल्ल प्रतिवादी रहेको एक बैंकिङ कसुर मुद्दा मिलाइदिने आश्वासन दिएका थिए । उनले पीडितलाई झुक्क्याएर र गफलतमा पारेर नगद तथा मोबाइल बैंकिङमार्फत पटक-पटक गरी जम्मा १ लाख ३० हजार रुपैयाँ लिएर फरार भएका थिए ।

    रकम लिएर व्यक्ति फरार भएपछि पीडितले दिएको उजुरीका आधारमा प्रहरीले खोजी कार्य तीव्र पारेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई २०८३ वैशाख २ गते दिउँसो ४ बजेतिर काठमाडौँको बालाजु क्षेत्रबाट फेला पारी नियन्त्रणमा लिएको हो ।

    पक्राउ परेका अधिकारीमाथि ठगी सम्बन्धी कसुर मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए । काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar