दुःखका बेला साथ दिने नेता मात्रै साँचो प्रतिनिधि : प्रदीप यादव

  • कालिका खवर
  • मङ्लबार, माघ २०, २०८२
  • वीरगंज — पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले जनताको सुख–दुःख र आपत–विपतमा साथ दिने नेतृत्वलाई मात्र चयन गर्न मतदातासँग आग्रह गरेका छन्।

    मंगलबार वीरगन्जमा आयोजित नेकपा एमालेको शुभेच्छुक पर्सा जिल्ला स्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले चुनावका बेला मात्र देखिने र अरु समयमा जनताबाट टाढा रहने नेताहरूप्रति सजग रहनुपर्ने बताए।

    उनले भने, “चुनाव नजिकिँदा मात्रै देखा पर्ने र अरु बेला गायब हुने नेताहरू फेरि उम्मेदवार बनेर आएका छन्। त्यस्ताबाट जनता सचेत हुन जरुरी छ। जसले हरेक सुख–दुःखमा साथ दिएको छ, त्यस्तालाई नै मत दिनुपर्छ।”

    यादवले यसपटक पर्साका चारवटै निर्वाचन क्षेत्रमा एमालेले जनताको विश्वास जित्ने दाबी गर्दै पार्टीले जनतासँग निरन्तर जोडिएको र सेवा गर्ने नेतृत्वलाई उम्मेदवार बनाएको उल्लेख गरे। “चारवटै क्षेत्रमा अत्याधिक बहुमतका साथ एमाले विजयी हुनेछ। संविधान र विकासको रक्षा एमालेकै नेतृत्वबाट सम्भव छ,” उनले भने।

    खानेपानी मन्त्री रहेका बेला पर्सामा देखिएको पानी संकटका समयमा आफू प्रत्यक्ष रूपमा जनतामाझ पुगेको स्मरण गराउँदै उनले भने, “वीरगन्जसहित पर्साका विभिन्न स्थानमा पानीको हाहाकार हुँदा अहिले उम्मेदवार बनेका धेरै नेताहरू देखिएनन्। तर म जनताको घर–घर पुगेर खानेपानी उपलब्ध गराउन सक्रिय थिएँ। त्यसैले जनताले दुःख र विपतमा साथ दिने नेतृत्व छान्नुपर्छ।”

    कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले आगामी निर्वाचनमा एमाले उम्मेदवारलाई विजयी गराउन एकताबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar