भ्रष्ट र ठग राजनीतिविरुद्ध पर्सा–४ बाट फिरोज अन्सारी चुनावी मैदानमा

  • कालिका खवर
  • मङ्लबार, माघ ६, २०८२
  • वीरगंज  – पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट पिपुल फर्स्ट पार्टीका उम्मेदवार फिरोज अन्सारीले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएपछि उनले चुनावी प्रतिस्पर्धालाई “नागरिक नेतृत्व” र “स्वच्छ राजनीतिको” एजेन्डासँग जोडेर अघि बढाउने बताएका छन्।

    उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँगको कुराकानीमा अन्सारीले दशकौँदेखि सत्ता र स्रोतमा प्रभाव जमाउँदै आएका “भ्रष्ट पुराना दल” विरुद्ध सचेत नागरिकको सक्रिय भूमिका आवश्यक रहेको दाबी गरे। साथै उनले नयाँको आवरणमा सस्तो लोकप्रियता कमाउँदै जनभावनामाथि खेल्ने “पपुलिष्ट ठग” प्रवृत्तिबाट पनि राजनीतिको स्तर खस्किएको आरोप लगाए। यी सबै आरोपलाई उनले देशको सुशासन र विकासमा बाधक भएको तर्कसहित प्रस्तुत गरेका छन्।

    अन्सारीका अनुसार भ्रष्टाचारले देशका स्रोत–साधन दुरुपयोग भएको छ र कतिपय समूहले जनताको अपेक्षा/आशामाथि खेलवाड गरेका छन्। “यो मेरो व्यक्तिगत उम्मेदवारी मात्र होइन, यो नागरिकको स्वाभिमान र समृद्धिको लडाइँको सुरुवात हो,” भन्दै उनले आफ्नो उम्मेदवारीलाई अभियानको रूपमा व्याख्या गरे।

    पिपुल फर्स्ट पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएका अन्सारीले स्वच्छ राजनीति, नागरिकको सम्मान र समृद्ध भविष्यका लागि जनसमर्थन अपरिहार्य भएको बताए। उनले मतदातालाई अधिकार र भविष्यका सवालमा एकजुट हुन आह्वान गर्दै ‘जय नागरिक’ नारा समेत अघि सारेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar