पत्रकारले देश चलाउन सक्दैनन् भन्ने मान्यता तोडिएको छ : सञ्चारमन्त्री खरेल

  • कालिका खवर
  • शनिबार, माघ ३, २०८२
  • काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पत्रकारले राज्य सञ्चालन गर्न सक्दैनन् भन्ने परम्परागत भाष्य अब गलत साबित भएको बताएका छन्। शनिबार नेपाल पत्रकार महासंघ एसोशिएट प्रदेश समितिको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन मन्त्री खरेलले मिडियाकर्मीसँग देशका यावत विषयको ज्ञान हुने भन्दै आवश्यक पर्दा पत्रकारले देश र मन्त्रालय कुशलतापूर्वक चलाउन सक्ने दाबी गरे।

    आफ्नो २५ बर्से पत्रकारिता जीवनबाट अप्रत्याशित रूपमा मन्त्रीको जिम्मेवारीमा आएको स्मरण गर्दै उनले भने, ‘एउटा पत्रकारलाई समाचार लेख्न र बोल्न मात्र आउँदैन। उसले शिक्षा, स्वास्थ्य, अर्थ, परराष्ट्रदेखि कृषिसम्म सबै बुझेको हुन्छ। पत्रकारले नबुझेको के छ ? त्यसैले आवश्यक पर्दा पत्रकारले देश चलाउन सक्छ।’

    ‘पत्रकारिताको शिर निहुरिने काम गरेको छैन’

    मन्त्री खरेलले सरकारमा रहेको चार महिनाको अवधिमा पत्रकारिता पेसा र पत्रकारको शिर निहुरिने कुनै पनि काम नगरेको जिकिर गरे ।  प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारले फागुन २१ गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने मन्त्री खरेलले प्रतिबद्धता व्यक्त गरे । यो सरकार ‘जेन्जी आन्दोलन र सहिदहरूको रगतको जगमा बनेको नागरिक सरकार भएको भन्दै उनले निर्वाचनमा कुनै पनि प्रकारको हस्तक्षेप नहुने स्पष्ट पारे।

    उनले भने,  ‘हामी निर्वाचन आयोगलाई सहयोग गर्न र निर्वाचन निष्पक्ष बनाउन दृढ छौँ। विगतका अप्ठ्याराहरू पन्छाउँदै सरकार र प्रधानमन्त्रीज्यूले दृढतापूर्वक काम गर्नुभएको छ।’ सुशासनको सन्दर्भमा सरकार निर्मम भएर प्रस्तुत भएको मन्त्री खरेलले बताए। पछिल्लो चार महिनामा ४० भन्दा बढी ठुला भ्रष्टाचारका फाइलहरू अघि बढेको र यसमा सरकारले अख्तियार लगायतका निकायलाई स्वतन्त्र रूपमा काम गर्न दिएको उनले जानकारी दिए। ‘

    बानेश्वरको सडकमा बगेको रगत र जेन्जी आन्दोलनको मर्मलाई नबिर्सन आग्रह गर्दै मन्त्री खरेलले आगामी संसद् र सरकारमा पनि मिडिया क्षेत्रको बलियो उपस्थिति हुनुपर्ने धारणा राखे । उनले पत्रकारहरूलाई विवेकशील भएर सही नेतृत्व चयन गर्न र जनतालाई सुसूचित गराउन आह्वान समेत गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar