काठमाडौं–२ बाट अनुप बोहोराको स्वतन्त्र उम्मेदवारी घोषणा

  • कालिका खवर
  • सोमवार, पुस २८, २०८२
  • काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट अनुप बोहोराले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। संविधान संशोधन, GenZ का माग पूरा गर्ने, स्थिरता र विकासलाई प्राथमिकतामा राख्दै नयाँ र पुराना अस्थिरतावादी शक्तिहरूलाई पराजित गर्ने उद्देश्यका साथ आफू चुनावी मैदानमा उत्रिएको उनले बताए।

    उम्मेदवारी घोषणा गर्दै बोहोराले देशमा देखिएको राजनीतिक अस्थिरताको अन्त्यका लागि सार्थक संविधान संशोधन आवश्यक रहेको उल्लेख गरे। उनले वर्तमान व्यवस्था जनताको अपेक्षाअनुसार परिमार्जन हुनुपर्ने र त्यसका लागि स्वतन्त्र र जिम्मेवार नेतृत्व अपरिहार्य रहेको धारणा राखे।

    बोहोराेले विशेषगरी GenZ का शिक्षा, रोजगारी, उद्यमशीलता, प्रविधि, सुशासन र अवसरसम्बन्धी मागहरूलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्न नसकेको भन्दै आफू ती मुद्दालाई संसदसम्म मजबुत रूपमा उठाउने प्रतिबद्धता जनाए।

    स्थिरता र विकास आफ्नो मुख्य एजेन्डा रहेको उल्लेख गर्दै बोहोराले अल्पकालीन राजनीतिक स्वार्थभन्दा माथि उठेर दीर्घकालीन राष्ट्रिय हितमा काम गर्ने नेतृत्वको आवश्यकता रहेको बताए। उनले काठमाडौं–२ का मतदाताले परिवर्तन, स्थायित्व र विकास चाहेको विश्वास व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar