तमु ल्होसारले भाइचारा र सांस्कृतिक संरक्षणमा योगदान पुराएको छ : मुख्यमन्त्री आचार्य

  • कालिका खवर
  • मङ्लबार, पुस १५, २०८२
  • बुटवल  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तमु ल्होसार पर्वले आपसी भाइचारा, सद्भाव र बन्धुत्वको भावना मजबुत बनाउँदै मौलिक भाषा, संस्कृति र पहिचानको संरक्षण तथा संवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन् ।

    गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले यस्ता मौलिक पर्वहरूले विविधतामा एकता भन्ने साझा मूल्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका हुन् ।

    शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश भूगोलको हिसाबले मात्र नभई भाषा, संस्कृति, कला र सभ्यताका दृष्टिले पनि विविधतायुक्त प्रदेश भएको उल्लेख गरे । बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा मनाइने तमु ल्होसारजस्ता पर्वहरूले सबै नेपालीबिच सहिष्णुता, आपसी सम्मान र सामाजिक एकतालाई बलियो बनाउने उनको भनाइ छ ।

    मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले भाषा, संस्कृति, सभ्यता र लिपिहरूको संरक्षण तथा प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्दै आएको बताए ्र प्रदेशभित्र रहेका सबै भाषा र सांस्कृतिक पहिचानको संरक्षणका लागि आवश्यक नीतिगत व्यवस्था गर्न भाषा ऐन निर्माणका विषयमा छलफल अगाडि बढाइएको पनि उनले स्पष्ट पारे । सबै धर्म, संस्कृति, परम्परा र सांस्कृतिक अभ्यासलाई समान दृष्टिकोणका साथ सम्मान गर्ने नीति प्रदेश सरकारको स्पष्ट प्रतिबद्धता रहेको उनले उल्लेख गरे ।

    मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमार्फत आर्थिक तथा सामाजिक रूपमा समृद्ध प्रदेश निर्माण गर्न सकिने विश्वास व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत  तमु समुदायसहित सम्पूर्ण प्रदेशवासीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar