सरकारले एमालेलाई चुनावबाट वञ्चित गर्न खोज्यो : रघुवीर महासेठ

  • कालिका खवर
  • मङ्लबार, पुस ८, २०८२
  • काठमाडौँ । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले सरकारले नै एमालेलाई निर्वाचनमा सहभागी गराउन नचाहेको गम्भीर आरोप लगाएका छन्। मंगलबार च्यासलस्थित एमाले मुख्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले सधैँ निर्वाचनको पक्षमा रहे पनि सरकारको नियत र व्यवहार चुनावी वातावरण बिगार्ने खालको भएको दाबी गरेका हुन् ।

    विशेषगरी एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको ‘स्थानहद’ (काठमाडौँ उपत्यका बाहिर जान नपाउने प्रतिबन्ध) नहटाएसम्म निर्वाचनमा भाग लिन नसकिने उनले स्पष्ट पारे। नेता महासेठले प्रश्न गरे, ‘पार्टी अध्यक्षलाई नै हिँडडुलमा प्रतिबन्ध लगाएर एमाले कसरी चुनावमा जान सक्छ?’

    सरकारले साँच्चिकै निर्वाचन चाहेको भए यस्ता खाले बन्देजहरू तत्काल हटाउनुपर्ने उनको तर्क छ। चुनावी वातावरण बनाउने मुख्य जिम्मेवारी सरकारको भए पनि वर्तमान अन्तरिम सरकारले उल्टै द्वन्द्व बढाएको र यो सरकार चुनाव गर्न असक्षम रहेको उनले बताए। यसअघिका अन्तरिम सरकारहरू सफल भए पनि वर्तमान सरकार भने असफलताको बाटोमा हिँडेको र यसका मन्त्रीहरू नै नयाँ दल खोल्ने र राजनीतिक स्वार्थमा लाग्ने गरेको उनले आरोप लगाए।

    मन्त्रीमण्डलका सदस्यहरूलाई राजनीतिक गतिविधिमा रोक लगाउन माग गर्दै महासेठले सरकारका संयन्त्रहरूको दुरुपयोग भइरहेकोमा सचेत गराए। उनले छानबिन आयोगका गतिविधिहरूले झन् त्रासको वातावरण सिर्जना गरेको र यसले निर्वाचनको माहोल बिगारेको बताए।

    सरकारले आफ्नो कमजोरी स्वीकार गर्दै स्थानहद हटाएर चुनावी अभियानका लागि खुला वातावरण नबनाएसम्म एमालेलाई चुनावमा धकेल्न खोज्नु अर्थहीन हुने उनको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar