पूर्वआईजीपी खापुङ र सचिव दुवाडीसँग आज बयान लिँदै जाँचबुझ आयोग

  • कालिका खवर
  • बिहिबार, मंसिर २५, २०८२
  • काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले आज पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्वगृहसचिव गोकर्णमणी दुवाडीसँग बयान लिने भएको छ ।

    उनीहरूसँग बयान लिन आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय विज्ञानराज शर्मा र विश्वेश्वर प्रसाद भण्डारीले बुधबारै प्रश्न तयार पारिसकेका छन् । यसअघि आयोगले मंगलबार सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँग सोधपुछ गरेको थियो । खापुङ जेनजी आन्दोलनका बेला नेपाल प्रहरीका महानिरीक्षक थिए ।

    भदौ २३ गतेको आन्दोलनमा प्रहरीले अत्याधिक बल प्रयोग गरेको भन्दै आलोचना भइरहेको छ ।  यसअघि खापुङलाई आयोगले स्पष्टीकरण पनि मागेको थियो। आयोग गठन भएको केही दिनमै आयोगले प्रहरीसँग फिल्डमा खटिएका प्रहरीहरूको विवरण माग गरेको थियो ।

    जवाफमा प्रहरीले जवानदेखि आईजीपीसम्म फिल्डमा खटिएको जानकारी गराएको थियो । त्यसपछि आयोगले अर्को पत्र पठाएको थियो । तर लामो समयसम्म जवाफ नपठाएपछि आयोगलाई असहयोग गरेको भन्दै खापुङलाई २४ घण्टाको समय दिँदै स्पष्टीकरण मागिएको थियो ।

    यहीबीच उनले स्पष्टीकरणसहित आयोगले माग गरेको विवरण पनि पठाएका थिए । पूर्वगृहसचिव गोकर्णमणी दुवाडीसँग आयोगले आजै बयान लिने भएको छ । जेनजी आन्दोलनका बेला गृहसचिव रहेका दुवाडीलाई अन्तरिम सरकारले असोज ७ गते राष्ट्रिय योजना आयोगमा सरुवा गरिसकेको छ ।

    गृहसचिवको जिम्मेवारी रामेश्वर दंगालले पाएका छन् । दुवाडीलाई पनि जाँचबुझ आयोगले विदेश जान प्रतिबन्ध लगाएको छ । काठमाडौँबाहिर जान पनि अनुमति लिन भनेको थियो । यसबीच उनी आयोगसँग अनुमति लिएर उपत्यकाबाहिर गएका पनि छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar