फरवार्ड लघुवित्त र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कर्जा सुरक्षण सम्झौता

  • कालिका खवर
  • शुक्रबार, मंसिर १२, २०८२
  • काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कर्जा सुरक्षणसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

    यो सम्झौता कोषले प्रचलनमा ल्याएको लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२ बमोजिम गरिएको हो, जसको उद्देश्य ऋणी वा एकै घरका पति/पत्नीको मृत्यु, अशक्तता तथा परीयोजना नष्टजस्ता घटनाबाट बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेका लघु कर्जामा हुन सक्ने क्षतिबाट सुरक्षण प्रदान गर्नु हो।

    सम्झौता समारोहमा दुबै संस्थाका प्रमुख कार्यकारी अधिकृतहरू सहित फरवार्ड लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरू तथा कोषका विभागीय प्रबन्धक र शाखा कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    सम्झौतापछि कोषको लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण कार्यक्रमअन्तर्गत फरवार्ड लघुवित्तले प्रवाह गरेको कर्जामा wilful default भएको अवस्थामा ७५ प्रतिशत र मृत्यु, अशक्तता तथा परीयोजना नष्टजस्ता परिस्थितिजन्य कारणले कर्जा डिफल्ट भएमा १०० प्रतिशत दाबी भुक्तानी कोषले उपलब्ध गराउनेछ।

    योजना सदस्यतासहित फरवार्ड लघुवित्तले नियमित ०.४ प्रतिशत सुरक्षण शुल्कमा थप ०.१५ प्रतिशत गरी कुल ०.५५ प्रतिशत तिर्नुपर्नेछ।

    यो सम्झौताले विपन्न वर्गलाई प्रवाह गरिने लघु तथा साना उद्यम कर्जा शतप्रतिशत सुरक्षित हुने तथा कर्जा सुरक्षणका लागि चल–अचल सम्पत्ति धितोको झन्झटबाट लघुवित्त संस्था मुक्त हुने कोषको अपेक्षा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar