काठमाडौंका सडकमा थपिए १६ आधुनिक विद्युतीय बस

  • कालिका खवर
  • बुधबार, जेष्ठ २०, २०८३
  • काठमाडौं । सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्ने उद्देश्यले काठमाडौं महानगर क्षेत्रमा गत बुधबारदेखि १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याइएको छ।महानगर यातायातले २०८२ मा १२ ओटा विद्युतीय बस सञ्चालनमा ल्याइसकेको थियो ।

    सञ्चालनमा आएका यी बसमा ३३ वटा सिट रहेका छन् भने उभिएर यात्रा गर्ने यात्रुसहित एकैपटक करिब ७० जनासम्मले यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ। यात्रुका लागि आरामदायी तथा आधुनिक सुविधासहित बस सञ्चालनमा ल्याइएको महानगर यातायातको दाबी छ।

    चीनबाट आयात गरिएका यी बसमा १४४ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गरेपछि बसले करिब २०० किलोमिटरसम्म दूरी तय गर्न सक्छ। प्रत्येक बसको मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको बताइएको छ।

    बस शुभारम्भ कार्यक्रममा महानगर यातायातका  सचिव केशव नेपालले वातावरणमैत्री यातायातको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय सवारीको प्रयोग विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए। उनले स्वच्छ वातावरण र दिगो यातायात प्रणाली निर्माणका लागि विद्युतीय बस प्रभावकारी विकल्प भएको बताए।

    उनले आगामी दिनमा थप विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिँदै आधुनिक तथा हरित यातायात प्रणालीको विकासमा कम्पनी प्रतिबद्ध रहेको बताए। नयाँ बस सञ्चालनसँगै काठमाडौं उपत्यकामा वातावरणमैत्री सार्वजनिक यातायातको पहुँच थप विस्तार हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar