देशभरका २२ सडकबाट टोल ट्याक्स उठाइँदै

  • कालिका खवर
  • शुक्रबार, मंसिर १२, २०८२
  • काठमाडौं, १२ मंसिर । सडक बोर्डले पाँच वर्षदेखि रोकिएको सडक उपभोग दस्तुर (टोल ट्याक्स) उठाउन सुरु गरेको छ । बोर्डले भैरहवा–भूमही सडकखण्डमा मंसिर १ गतेदेखि टोल ट्याक्स उठाउन सुरु गरेको हो । यस खण्डमा ठूला सवारीलाई ३० रुपैयाँ र साना (चार पाङ्ग्रे)लाई २० रुपैयाँ (पुरानै दर) कायम गरिएको छ ।

    बोर्डका कार्यकारी निर्देशक गणेश बहादुर केसीका अनुसार देशका प्रमुख राजमार्गहरूमा सडकको अवस्था सुधार भई पूर्णता पाएका स्थानहरूमा क्रमशः टोल गेट राख्ने र दस्तुर उठाउने प्रक्रिया अघि बढाइएको हो । उनका अनुसार अब नारायणगढ–हेटौंडा, मुग्लिन–नारायणगढ, मुग्लिन–पोखरा र वीरगञ्ज–पथलैया सडक खण्डमा टोल गेट स्थापना गर्ने तयारी भइरहेको छ ।

    कोभिड–१९ का कारण रोकिएको टोल ट्याक्स देशभर २२ सडक र नागढुङ्गा सुरुङमार्गबाट टोल ट्याक्स उठाउने तयारी भइरहेको छ । कोभिडअघि १५ वटा सडकबाट मात्र यस्तो कर उठाइने गरिन्थ्यो । २०८१ जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले सडक उपभोग दस्तुर उठाउने (कार्यविधि) नियमावली, २०८१ स्वीकृत गरिसकेको थियो, तर लागु भने भएको थिएन ।

    २०८२ साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्गको दस्तुर तोकेको थियो । यो सुरुङमा तीन किसिमका सवारीलाई काठमाडौं आउँदा र काठमाडौंबाट बाहिरिँदासमेत फरक शुल्क तोकेको छ । यो सुरुङमार्ग सञ्चालनमा आएपछि सवारीधनीले सुरुङ प्रयोग गरेबापत शुल्क तिरेर मात्र उपभोग गर्न सकिन्छ ।

    भ्यानहरूको काठमाडौं आउँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ, मिनी बसरट्रकको काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ, बस तथा ट्रकको काठमाडौं आउँदा २६० र बाहिरिँदा २०० रुपैयाँ र भारी उपकरणको काठमाडौं आउँदा ६०० र बाहिरिँदा २५० दस्तुर तोकिएको छ । सुरुङमार्गबाट साइकल तथा मोटरसाइकल र पैदलयात्रीलाई निषेध छ ।

    यस्तै, देशभरका २२ सडकमा दस्तुर उठाउने तयारी सुरु भएको छ । २२ सडकमध्ये कुनमा कति दस्तुर लिने भन्नेबारे छलफल भइरहेको छ । पहिला उठाइरहेको टोल दर १० वर्ष पुरानो भएकाले यसलाई समयसापेक्ष बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको बोर्डका कार्यकारी निर्देशक केसीले बताए । उनले भने, ‘ट्याक्स कुन ठाउँमा कति उठाउने, फाइनल हुँदै छ । अझ हाम्रो क्याबिनेटमा जान्छ, किनकि यो १० वर्ष पहिलाको रेट छ । १० वर्षबाट एस्केलेसन नै ३ प्रतिशतले बढेर आएकाले रिभाइज गर्नुपर्ने देखिन्छ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar