काभा महिला भलिबल ः इरानलाई हराउँदै फाइनल पुग्ने नेपाली लक्ष्य

  • कालिका खवर
  • बिहिबार, जेष्ठ १४, २०८३
  • नवीन लुईटेल

    ललितपुर (गोदावरी) – नेपालले काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा इरानसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको नेपालले समूह ‘बी’ को विजेता इरानसँग प्रतिस्पर्धा गर्न लागेको हो । यो सेमिफाइनल खेल बिहीबार साँझ ५ बजे राखेपको कर्भडहलमा हुनेछ । इरान साविक विजेता टिम हो भने नेपाल पहिलो संस्करणको उपविजेता टिम हो । इरान एफआईभीबी वरियतामा ४४औं स्थानमा छ भने नेपाल ५४औं स्थानमा छ ।

    यसअघि समूह ‘ए’ को विजेता भारतले भने सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता काजखस्तानसँग बिहीबार दिउँसो साढे २ बजे खेल्नेछ । सन् २०२४ मा काठमाडौंमै सम्पन्न पहिलो संस्करणमा भारतसँग फाइनलमा पराजित हुँदै उपविजेता बनेको नेपालका लागी इरान शसक्त्त प्रतिद्धन्द्धि हो । समूह ए बाट आएको नेपालले चिर प्रतिद्धन्द्धी भारतसँग कडा टक्करकाबीच ३–२ ले हारेपनि बाँकीका दुई खेलमा सोझा्े सेटको अन्तरमा जित हाँसिल गर्दै ७ अंकका साथ अन्तिम चारको यात्रा तय गरेको थियो । भारतले ३ वटै खेल जितेपनि नेपालसँगको खेलमा नेपालले पनि २ सेट जितेको थियो । जसका कारण ३ अंकमा १ अंक नेपाललाई र २ अंक मात्र भारतलाई गएको थियो ।

    नेपालका मुख्य प्रशिक्षक जगदिश भट्टले इरान विरुद्ध राम्रो खेल पस्कदै नतिजा आफ्नो पक्षमा ल्याउने प्रतिवद्धता जनाए । उनले समूह चरणमा सबै खेलाडीलाई अवसर दिएकाले यसको फाइदा सेमिफाइनलमा हुने बताए । उनले इरानको टिम राम्रो रहेको बताउँदै सर्विस र डिफेन्स पनि राम्रो रहेको बताएका छन् । कप्तान निरुता ठगुन्नाले पनि नयाँ उत्साहित खेलाडीहरुको आफ्नो टिम रहेकोले सक्दो खेलेर नतिजा आफ्नो पक्ष्मा ल्याइ छाड्ने बताइन् । साविक विजेता इरानले समूह चरणमा काजखस्तान, श्रीलंका र बंगलादेशलाई सोझो सेटमा हराउँदै ९ अंकका साथ समूह विजेता बनेको थियो । बंगलादेशसँग हारेपनि श्रीलंका र बंगलादेशलाई निराश पार्दै ६ अंकका साथ काजखस्तानले अन्तिम चारमा स्थान बनाएको हो । एफआईभीबी वरियतामा काजखस्तान ३६ औँ स्थानमा छ भने भारत ६२औं स्थानमा छ ।

    सन् २०२४ मा काठमाडौंमै सम्पन्न पहिलो काभामा नेपाललाई हराउँदै भारतले उपाधि जितेको थियो । ५ राष्ट्र सहभागी प्रतियोगितामा इरानले तेस्रो स्थान ल्याएको थियो । सन् २०२५ को अक्टोबरमा उज्वेकिस्तानमा आयोजीत दोस्रो संस्करणमा घरेलु टोली उज्वेकिस्तानलाई हराउँदै इरानले उपाधी जितेको थियो । सुरुमा नेपालमै हुने तय भएपनि जेनजी आन्दोलनको कारणले सो प्रतियोगिता उज्वेकिस्तानमा सारिएको थियो । सो संस्करणमा मात्र ४ टिम सहभागी थिए । सेन्ट्रल एसियाको ८ टिम समावेश यस प्रतियोगितामा समूह ‘ए’ बाट भारत , नेपाल , कीर्गिस्तान र माल्दिभ्स रहेका थिए भने समूह ‘बी’ बाट इरान , काजखस्तान, श्रीलंका र बंगलादेश रहेका थिए ।

    किर्गिस्तानलाई पाँचौ स्थान

    काभा महिला भलिबल च्याम्पियनसिपमा किर्गिस्तानले पाँचौं स्थान हासिल गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा बुधबार पाँचौं स्थानका लागि भएको खेलमा किर्गिस्तानले श्रीलंकालाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट १५–२५ ले गुमाएको किर्गिस्तानले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पा¥यो। किर्गिस्तानले दोस्रो र तेस्रो सेट समान २५–२३ ले जित्दा चौथो सेटमा २५–१५ को सहज जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो।

    प्रतियोगितामा बंगलादेशलाई हराउँदै माल्दिभ्सले सातौँ स्थान हात पारेको छ भने पराजित बंगलादेश ८ टोली सहभागी प्रतियोगितामा ८ औँ अर्थात पुछारमा रह्यो । काभा महिला भलिबल च्याम्पियन एफआईभीबी विश्व वरियता प्राप्त प्रतियोगिता हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar