गौरीघाट–गुह्येश्वरी वाग्मती किनारमा छठघाट निर्माण सुरु

  • कालिका खवर
  • शुक्रबार, कार्तिक ७, २०८२
  • काठमाडौं : पशुपति क्षेत्रस्थित गौरीघाटबाट गु्ह्येश्वरीसम्मको वाग्मती किनारमा छठ पर्वको तयारी सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वका लागि यस क्षेत्रमा छठीघाट निर्माण सुरु गरिएको हो । गुह्येश्वरी छठ समितिले यस क्षेत्रमा करिब २०० वटा घाट निर्माण गर्न लागेको छ ।

    बाँस ल्याएर छठघाट निर्माणका लागि काम धमाधम भइरहेको छ । समितिले यस क्षेत्रको नदीलाई सफा बनाउन थालेको छ । यस वर्ष कात्तिक १० गते सोमबार छठ पर्वको मुख्य दिन हो । त्यस दिन अस्ताउँदो सूर्यलाई पूजा अराधनासहित अर्घदान गरिन्छ । कात्तिक ११ गते मंगलबार  बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ अन्त्य हुन्छ ।

    गुह्येश्वरी मन्दिर अघिको बाग्मतीबाट गौरीघाटसम्मको नदी किनारमा सिँगारेर छठ घाट बनाइँदै छ । छठपर्वमा उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन नदी किनारमा बस्छन् । रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ दिइने समिति सदस्य चन्द्रकान्त यादवले बताए ।

    सोमबार बिहान स्नान गरी चोखोनितो गरेर बस्ने वर्तालुले मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar