MAXUS Nepal ले बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गर्ने

  • कालिका खवर
  • बिहिबार, भदौ ११, २०८३
  • काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गतको MAXUS Nepal ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनाका लागि कुल ७० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

    MAXUS Nepal ले SAIC MAXUS Automotive Co., Ltd., China सँगको समन्वयमा नेपाल सरकारसँग ऐक्यबद्धता जनाउँदै उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। कम्पनीका अनुसार सहयोग रकममध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिनेछ।

    उक्त रकम नेपाल सरकारमार्फत सञ्चालन हुने राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यमा उपयोग हुने कम्पनीले जनाएको छ। त्यसैगरी, बाँकी २० लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री खरिद गरी बाढी प्रभावित क्षेत्रमा वितरण गरिनेछ।

    MAXUS Nepal का अनुसार राहत सामग्री सामाजिक संस्था तथा सम्बन्धित स्थानीय सरकारसँग समन्वय गरी वितरण गरिनेछ। विपद्बाट सबैभन्दा बढी प्रभावित तथा तत्काल सहयोग आवश्यक रहेका क्षेत्रको पहिचान गरी प्राथमिकताका आधारमा राहत उपलब्ध गराउने योजना रहेको कम्पनीले जनाएको छ।

    प्रत्यक्ष राहत वितरणका लागि सम्बन्धित निकाय तथा सरोकारवालासँग आवश्यक समन्वय भइरहेको बताउँदै कम्पनीले राहत सामग्रीको प्रकृति, वितरण क्षेत्र, प्रक्रिया तथा कार्यान्वयन समयतालिकाबारे विस्तृत जानकारी पछि सार्वजनिक गरिने जनाएको छ।

    त्यसैगरी, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम हस्तान्तरण गर्ने मिति तथा राहत सामग्री वितरणसम्बन्धी थप विवरण आवश्यक तयारी र समन्वय पूरा भएपछि छुट्टै सार्वजनिक गरिनेछ।

    कम्पनीले यो पहल MAXUS Nepal र SAIC MAXUS को नेपाल तथा नेपाली जनताप्रतिको दीर्घकालीन प्रतिबद्धताको प्रतीक भएको उल्लेख गरेको छ। व्यावसायिक सहकार्यमा मात्र सीमित नरही कठिन परिस्थितिमा देश र समुदायसँग उभिनु आफ्नो सामाजिक उत्तरदायित्वसमेत भएको कम्पनीको भनाइ छ।

    MAXUS Nepal ले घोषित सहयोगलाई जिम्मेवार, पारदर्शी तथा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जारी राहत तथा पुनर्स्थापना प्रयासमा अर्थपूर्ण योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

    MAXUS Nepal (Himalaya Motrox Pvt. Ltd.) नेपालका लागि SAIC MAXUS सवारी साधनहरूको आधिकारिक वितरक हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar