पोखराका युवा वैज्ञानिक डा. निरञ्जन कोइराला विश्वका शीर्ष २ प्रतिशत प्रभावशाली वैज्ञानिकको सूचीमा

  • कालिका खवर
  • शनिबार, अशोज २४, २०८३
  • पोखरा। पोखराका युवा वैज्ञानिक डा. निरञ्जन कोइराला विश्वका शीर्ष २ प्रतिशत प्रभावशाली वैज्ञानिकहरूको सूचीमा समेटिएका छन्। स्ट्यानफोर्ड विश्वविद्यालय र एल्सेभियर (Elsevier) को सहकार्यमा तयार पारिएको उक्त सूचीमा उनको नाम समावेश भएको हो। प्राकृतिक स्रोतमा आधारित औषधिको खोज तथा विकासमा जैविक प्रविधिको प्रयोग गर्दै आएका डा. कोइराला यस क्षेत्रमा अनुसन्धानरत विज्ञ हुन्।

    डा. कोइरालाले हालसम्म गरेका अनुसन्धान कार्यहरू अन्तर्राष्ट्रिय अनुसन्धान समुदायमा उल्लेखनीय रूपमा उद्धृत भएका छन्। सन् २०२६ सम्म गुगल स्कलरमा अनुक्रमित विवरणअनुसार उनका अनुसन्धान कार्यले करिब ६ हजार ५०० उद्धरण प्राप्त गरेका छन्। यसले उनका अनुसन्धानप्रति अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायको चासो र प्रयोगलाई प्रतिबिम्बित गर्छ।

    उनले दक्षिण कोरियामा विद्यावारिधि (पीएचडी) अध्ययनका क्रममा गरेका अधिकांश अनुसन्धानसँग सम्बन्धित आविष्कारले कोरियाली बौद्धिक सम्पत्ति कार्यालय (KIPO) बाट पेटेन्ट अधिकारसमेत प्राप्त गरेको जनाइएको छ। अनुसन्धान, नवीन आविष्कार र वैज्ञानिक प्रस्तुतीकरणमा योगदान पुर्‍याउँदै आएका उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरेका छन्।

    डा. कोइरालाले नेपालका राष्ट्रपतिबाट नेपाल विद्याभूषण ‘क’ पदक, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) बाट विज्ञान तथा प्रविधि युवा पुरस्कार, दक्षिण कोरियाको सन मुन विश्वविद्यालयबाट डीन च्वाइस अन्तर्राष्ट्रिय विद्यार्थी समाज अवार्ड तथा भारतको BRICPL बाट युवा वैज्ञानिक पुरस्कार प्राप्त गरेका छन्। त्यस्तै, उनले अन्तर्राष्ट्रिय सम्मेलनहरूमा उत्कृष्ट पोस्टर प्रस्तुतीकरण र उत्कृष्ट मौखिक प्रस्तुतीकरण पुरस्कारसमेत हासिल गरेका छन्।

    वैज्ञानिक अनुसन्धानका अतिरिक्त डा. कोइराला विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिक संस्थामा सक्रिय छन्। उनी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका रिसर्च फेलो, Crossref का लागि नेपालका राजदूत तथा International Association of Dietetic Nutrition and Safety का लागि नेपालका पर्यवेक्षकका रूपमा आबद्ध छन्। साथै, उनी Phytochemical Society of Asia र International Chemical Biology Society का सदस्य तथा Biotechnology Society Nepal का आजीवन सदस्य हुन्।

    उनी विभिन्न वैज्ञानिक जर्नलका सम्पादकीय बोर्ड सदस्य तथा समीक्षकका रूपमा पनि कार्यरत छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन र कार्यशालामा आमन्त्रित वक्ता तथा सहभागीका रूपमा उपस्थित हुँदै आएका उनी सरकारी र निजी अनुसन्धान संस्थाहरूमा भ्रमणकर्ता तथा सल्लाहकार वैज्ञानिकका रूपमा समेत संलग्न छन्।

    डा. कोइरालाको उपलब्धिले नेपालको वैज्ञानिक अनुसन्धान, जैविक प्रविधि र प्राकृतिक स्रोतमा आधारित औषधि विकासको क्षेत्रमा नेपाली अनुसन्धानकर्ताको उपस्थिति अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न योगदान पुर्‍याएको छ। विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा उनको नाम समावेश हुनुले नेपाली युवा वैज्ञानिकका लागि अनुसन्धान र नवप्रवर्तनमा थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar