बाढीमा परेका ५ जलविद्युत् आयोजनाका करिब २०० जना सम्पर्कविहीन

  • कालिका खवर
  • बिहिबार, भदौ ११, २०८३
  • काठमाडौँ : भोटेकोसीको विनाशकारी बाढीमा परेर पाँच वटा जलविद्युत् आयोजनामा कार्यरत करिब २०० जना सम्पर्कविहीन भएका छन्। बुधबार आएको बाढीले रसुवा, नुवाकोटलगायतका जिल्लामा रहेको विद्युत् परियोजनामा ठूलो जनधनको क्षति पुर्‍याएको आशंकाबीच प्राप्त पछिल्लो विवरणअनुसार करिब २०० जना मानिक सम्पर्कविहीन भएका हुन्।

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन भएका छन्। जसमध्ये आधा नेपाली छन् भने आधा विदेशी छन्। आयोजना प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना सम्पर्कविहीन छन्। यी मध्ये आयोजनामा कार्यरत ८ जना कोरियन नागरिक छन्।

    आयोजनाको परामर्शदाता जेड कन्सल्ट र लामा जेभियर्स जेभीका ७ जना पनि सम्पर्कविहीन भएको सूचना स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ। साथै, आयोजनामा कार्यरत १२ जना हेडवर्क्र्स क्षेत्रमा र २०० जना भन्दा बढी विद्युतगृह (पावर हाउस) क्षेत्रमा उद्दारको पर्खाइमा बसेका छन्। आयोजनास्थलबाट पहिलो चरणको उद्दार सुरु भएको बारे अनौपचारिक जानकारी प्राप्त भएको इप्पानले जनाएको छ।

    त्यसैगरी, १११ मेगावाट क्षमताको रसुवागढी आयोजनामा कार्यरत ५१ जना सम्पर्कविहीन छन्। टिमुरेमा ३ जनाले अग्लो ठाउँमा उक्लिएर ज्यान जोगाएका छन्। कसैसँग पनि सञ्चार सम्पर्क हुन सकेको छैन।

    यस्तै, ५ मेगावाट क्षमताको मैलुङ खोला आयोजनाको विद्युत गृहमा कार्यरत ८ जना कर्मचारी सम्पर्कविहीन छन्। उनीहरुसँग बुधबारदेखि नै सम्पर्क टुटेको छ। इप्पानका अनुसार हेलिकप्टर व्यवस्थापन गरेर उद्दार तथा अवलोकनमा जाने प्रयास भइरहेको बताइएको छ।

    १२० मेगावाट क्षमताको रसुवा भोटेकोसीमा सिभिल कन्ट्र्याक्टर सिनो हाइड्रोका दुईजना हराइरहेका छन्। पाँच जना नजिकैको गाउँमा शरण लिएर बसेका छन्। जसमध्ये ३ जना चिनियाँ र २ जना नेपाली उद्दारको पर्खाइमा छन्। हेलिकप्टर पुर्‍याएर उद्दारमा जाने तयारी भइरहेको इप्पानले जनाएको छ।

    त्यसैगरी, २० मेगावाटको लाङटाङ खोलामा बुधबार आएको बाढीले सुरुङमा थुनिएर सम्पर्कविहीन भएका ६० जना (२५ जना कर्मचारी र ३५ जना कामदार)सँग सम्पर्क स्थापित हुन सकेको छैन। अहिलेसम्म सबैको अवस्था अज्ञात नै छ। यस क्षेत्रमा विकासकर्ता कम्पनीका प्रतिनीधि गएर उद्धारका लागि प्रयास भइरेपनि हेलिकप्टरको व्यवस्था हुन नसकेको इप्पानले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar